३ सय जनालाई न्यानो लुगा वितरण
डोटीको प्रमुख व्यापारिक केन्द्र दीपायल पिपल्लामा रहेको केबी गु्रपका प्रमुख खगेन्द्रबहादुर साउद (केबी) ले डोटीमा रहेका वृद्धवृद्धा, एकल, अपाङ्गता भएका व्यक्ति तथा असहाय व्यक्तिलाई जाडोमा न्यानो लुगा वितरण गर्नुभएको छ।
आफ्नो कम्पनी केबी गु्रपको वार्षिकोत्सवको अवसर पारेर उहाँले वर्षेनी यहाँका असहाय व्यक्तिलाई जाडोमा न्यानो लुगा दिँदै आउनुभएको छ । आफ्नो छैठाँै वर्षका रुपमा उनले यस वर्ष पनि ३०० जनालाई ‘जाडोमा न्यानो लुगा वितरण’ कार्यक्रममा कम्मल वितरण गरेको छ।
दीपायल सिलगढी नगरपालिका–३ पुलबजार निवासी साउदले बुधबार नगरपालिकाका–१ देखि ४ सम्मका १२०, बिहीबार नगरपालिकाको वडा नं ५, ६ र ७ का ९०, र शुक्रबार वडा नं ८ र ९ का ९० लाई कम्मल वितरण गरेको हो। “दीपायल सिलगढी नगरपालिकामा रहेका असहाय, वृद्धवृद्धा, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिलाई हाम्रो कम्पनीले वर्षेनी चिसोमा न्यानो लुगा दिँदै आएको छ”, उनले भने, “यो कार्यलाई हामी पछि जिल्लाभरि फैलाउने छौँ।” सो गु्रपले प्रत्येक वडासँगको समन्वयमा एउटा वडाबाट ३० का दरले छनोट गरी २७० लाई र बाँकी कमजोर अवस्थाका अन्य ३० गरी ३०० लाई कम्मल वितरण गरेको छ।
समाजसेवाको भावना भएका साउद डोटी चेम्बर अफ कमर्सका अध्यक्ष तथा नेकपाका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य पनि हुन। रासस