डडेल्धुराका ५ स्थानीय तहमा मतदाता नामावली संकलन हुने
डडेल्धुराः डडेल्धुराका ५ स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रम संचालन हुने भएको छ। हाल निर्वाचन आयोगबाट स्वीकृत मतदाता नामावली संकलन विशेष कार्यक्रम, २०७८ लाई व्यवस्थित तवरले जिल्लाका सबै स्थानीय तहमा संचालन गरिने भएको हो।
जिल्ला निर्वाचन कार्यालय, डडेल्धुराले त्यहीँ मंसिर १७ गतेदेखि पहिलो चरणको मतदाता नामावली संकलन सुरु गर्ने छ। पहिलो चरणमा जिल्लाका तीन स्थानीय तहमा मतदाता नामावली संकलन गरिने कार्यालयले जनाएको छ। पहिलो चरणमा जिल्लाका तीन गाउँपालिका आलिताल, भागेश्वर र नवदुर्गामा मंसिर १७ गतेदेखि २६ गतेसम्म १० दिन मतदाता नामावली संकलन गरिने जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए।
दोस्रो चरणमा दुई गाउँपालिका अजयमेरु र गन्यापधुरामा मंसिर २८ गतेदेखि पुस ८ गतेसम्म मतदाता नामावली संकलन गरिने उनले बताए। उनका अनुसार मतदाता नामावली संकलन कार्य पालिका मुकाममा हुनेछ।
अमरगढी र परशुराम नगरपालिकाको हकमा भने जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा मतदाता नामावली दर्ता कार्य संचालनमा रहेको छ।