सुदूर नेपाललाई विश्वसँग जोड्दै

’ए’ डिभिजन लिग:ब्रिगेड ब्वाइज र एनआरटी तथा मच्छिन्द्र र आर्मी खेल्दै

फाइल फोटो
फाइल फोटो
२०७८ मंसिर १३, ०८:३७ खबर संवाददाता

काठमाण्डौ– सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा आज दोस्रो चरण अन्तर्गतको अन्तिम दुई खेल हुनेछन्। त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम (एनआरटी) खेल्दैछन्। खेल दिउँसो १ बजे हुने छ। 

पहिलो खेलमा विभागीय टिम एपीएफलाई ३–२ गोल अन्तरले हराएको बिग्रेड आज लगातार दोस्रो जितको खोजीमा हुनेछ भने एनआरटी पहिलो जितको खोजीमा हुनेछ । एनआरटी यसअघि भएको पहिलो खेलमा साविक विजेता मच्छिन्द्र क्लबसँग २–१ गोल अन्तरले पराजित भएको थियो। 

बिग्रेड ३ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ भने अङ्कविहीन एनआरटी १२ औँ स्थानमा छ। यस्तै, दोस्रो खेलमा बेलुका पौने ५ बजे साविक विजेता मच्छिन्द्र क्लब र उपविजेता त्रिभुवन आर्मी क्लब खेल्ने छन्।

पहिलो खेलमा एनआरटीलाई २–१ गोल अन्तरले हराएको मच्छिन्द्र आज लगातार दोस्रो जितको खोजीमा हुनेछ भने आर्मी पहिलो जितको खोजीमा हुनेछ। आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको थियो। 

मच्छिन्द्र तीन अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ भने त्रिभुवन आर्मी १ अङ्कसहित आठौँ स्थानमा छ। 

कमेन्ट लोड गर्नुस