डडेल्धुरामा माओवादी केन्द्रका नगर कमिटी अध्यक्षले महिला वडा सदस्यमाथि दुर्व्यवहार गरेको आरोप
डडेल्धुरा: डडेल्धुरामा नेकपा माओवादी केन्द्रका नगरकमिटी अध्यक्षले महिला वडासदस्यमाथि दुर्व्यवहार गरेको आरोप लागेको छ।
शुक्रबार परशुराम नगरपालिका वडा नम्बर ३ की वडा सदस्य राजमती ऐर आफ्नो घर शिर्षबाट लालढुंगा बजार हिँडेकी थिइन्। आफ्नो दाँतको उपचार गर्न र भर्खरै नेपाली काँग्रेसका जिल्ला सभापतिमा चयन भएका परशुराम नगरपालिकाका नगप्रमुख भीमबहादुर साउँदको सम्मान कार्यक्रममा सहभागी हुने समेत उनको सोच थियो। तर कसैले नेकपा माओवादी केन्द्रका नगरकमिटी अध्यक्ष शेरसिंह माल ‘डायमण्ड’ लाई वडा सदस्य ऐर नेपाली काँग्रेसमा प्रवेश हुन गइरहेको भन्ने गलत सूचना दिएछ। उनी नेकपा माओवादीबाटै चुनाव लडेर वडासदस्य बनेकी थिइन्।
‘म त दाँतको उपचार र सम्मान कार्यक्रम कस्तो हुँदो रहेछ भनेर त्यहाँ हेर्न मात्रै जान लागेकी थिए’ राजमतीले भनिन्, ‘तर कसैले डायमण्डजी लाई गलत सूचना दिएछ। त्यो थाहा पाएपछि रंगुन खोलानिर म सवार मोटरसाइकल रोकेर उनले मलाई हातपात गरे।’
राजमातीका अनुसार डायमण्डले उनीलाई जबरजस्ती मोटरसाइकलबाट उतारेर गालीगलौज गरेका थिए। ‘‘मेरो पाखुरा समातेर उतारे। मेरो सुइटरको टाँक समेत टुट्यो। ‘तँ माथि मेरो सबै लगानी लागेको छ। कहाँ जाँदैछस् रा.. ’ भनेर तथानाम गाली गरे’ उनले दुखेसो गर्दै भनिन्, ‘म बिचारी एकल महिला, मेरो माइतीमा भाई पनि छैनन्। उनले मलाई एक्लो भनेर त्यस्तो गरेका हुन्।’’
त्यसपछि डायमण्डले कटालमा रहेको आफ्नो पसलमा राखेको राजमती ऐरले बताइन्। ‘शौचालय जान्छु भनेर पसलमाबाट भागेर म घर आए’ उनी भन्छिन्, ‘म पार्टी प्रवेश गर्ने कुरा केही थिएन। म आफै डराएको थिए। राति पनि फोन गरेर महाकालीमा बगाइदिन्छु भनेर धम्काए। म एकल महिला भएकाले मात्रै उनले मलाई त्यस्तो गरे। हिजो मलाई रातभरी निन्द्रा लागेन।’
माओवादीको क्रियाशील सदस्य समेत रहेकी राजमतीमाथि त्यस्तो गर्नुभएको हो भन्ने प्रश्नमा शेरसिंह माल भन्छन् ‘उहाँले लगाएको आरोप गलत हो। उहाँसँग मेरो भेट भएकै छैन।’
बिहीवारबाट नेपालमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सूरु भएको छ। जसको नारा रहेको छ, ‘घरबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ।’