सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुर्नवास नगरपालिकाका जनप्रतिनिधिको सेवा सुविधा र बैठक भत्तामा ३२ लाख

२०७५ पुष १३, ०४:२१ जनक विष्ट

प्रदेश सरकारका मन्त्रीहरुले सेवासुविधा र अनुगमन खर्च शिर्षकमा आर्थिक बर्षका पाँच महिनामा झण्डै एक करोड खर्च गरेका बेला स्थानीय तहका जनप्रतिनिधिहरुको ध्यान पनि सेवासुविधा र मोजमस्तीमै केन्द्रीत भएको पाइएको छ।

विकास निर्माणका कामलाई थाती राखेर भएपनि स्थानीय तहका जनप्रतिनिधि पनि सेवासुविधाका नाममा राज्य कोषको रकम सिध्याउन उद्दत देखिएका हुन्। चालु आर्थिक वर्षको पाँच महिना सम्म तीन प्रतिशत मात्रै विकास बजेट खर्च गरेको कञ्चनपुरको पुर्नवास नगरपालिकाका जनप्रतिनिधिले विभिन्न शिर्षकमा झण्डै ३२ लाख रकम स्वाहा गरेका छन्।

जनप्रतिनिधिहरुले सेवासुविधा, बैठक भत्ता, इन्धन खर्च र भ्रमण खर्चको नाममा झण्डै ३२ लाख रकम खर्च गरेको पाइएको हो। झण्डै २५ करोड विकास बजेट रहेको पुर्नवास नगरपालिकाले चालु आर्थिक वर्षको पाँच महिनामा त्यसको तीन प्रतिशत करिब डेढ करोड बजेट मात्रै खर्च गरेका बेला जनप्रतिनिधिहरुले विभिन्न शिर्षकमा झण्डै ३२ लाख बजेट बुझेका हुन्।

नगरपालिका कार्यालयका अनुसार उनीहरुले पारिश्रमीक, इन्धन खर्च, सवारी साधन मर्मत, इन्धन अन्य प्रयोजन, पदाधिकारी बैठक भत्ता, पदाधिकारी अन्य सुविधा, पदाधिकारी अन्य भत्ता र भ्रमण खर्च लगायतका शिर्षकमा टिक्दै पाँच महिनामा उक्त रकम बुझेको पुर्नवास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पित्ताम्बर पाण्डेले बताए।

जनप्रतिनिधिहरुले सबैभन्दा बढि बैठक भत्ता शिर्षक र भ्रमण खर्च शिर्षकमा रकम लिएको पाईएको छ। नगरपालिकाको लेखा शाखाले उपलब्ध गराएको विवरण अनुसार उनीहरुले बैठक भत्ताका नाममा मात्रै झण्डै साढे ८ लाख खर्च गरेका छन् भने भ्रमण खर्च शिर्षकमा ७ लाख ६८ हजार लिइसकेका छन्।

यसैगरी पाँच महिनामा पारिश्रमीक वाफतको झण्डै साढे १२ लाख, सवारी साधन मर्मत खर्च शिर्षकमा साढे २ लाख, इन्धन र इन्धन अन्य प्रयोजन शिर्षकमा १ लाख रकम लिइसकेका छन्। तर अहिले आएर भने उनीहरु आफूहरुले त्यति धेरै रकम नलिएको दावी गरिरहेका छन्।

पुर्नवास नगरपालिकाका नगर प्रमुख जीवन थापाले त्यति धेरै रकम खर्च कसरी भयो होला भन्दै प्रतिप्रश्न गरे।  स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि विकास निर्माणका कामले तिव्रता लिने जनअपेक्षा बढेका बेला जनप्रतिनिधि भने आफ्नै गोजी भर्न केन्द्रीत भएपछि जनतामा निराशा बढ्दै गएको छ।
 

 
 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस