सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा एकलौटी ढंगले अधिवेशन गरेको भन्दै काँग्रेसको असन्तुष्ट पक्षद्वारा प्रदर्शन

२०७८ मंसिर ७, ०४:२६ खबर संवाददाता

डडेल्धुरा: विवादका बावजुद डडेल्धुरामा सातौं जिल्ला अधिवेशन सम्पन्न गरेको भन्दै नेपाली काँग्रेस डडेल्धुराको असन्तुष्ट पक्षले विरोध र्‍याली निकालेको छ। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा सोमबार सम्पन्न भएको  जिल्ला अधिवेशन अवैध भएको भन्दै मंगलबार असन्तुष्ट पक्षले मोटरसाइकल र्‍याली निकालेको हो। 

एकलौटी तवरले भएका सम्पूर्ण अधिवेशन खारेजको माग गर्दै उनीहरुले, ‘निकम्मा निर्वाचन समिति मुर्दावाद’, ‘तानाशाह मुर्दावाद’, ‘हाम्रो उजुरीमाथि निर्णय गर’, ‘नेपाली काँग्रेस जिन्दावाद’, लगायतका नारा लगाएका छन्। 

सोमबार मात्रै काँग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले जिल्लामा जारी अधिवेशन अवैध भएको दाबी गर्दै केन्द्रीय निर्वाचन समितिमा उजुरी दर्ता गरेका थिए। सभापति मल्ल लगायतका नेता कार्यकर्ता मंसिर १ गतेदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा अनशनरत छन्। आफ्नो असहमति हुँदाहुँदै अर्को पक्षले एकलौटी अधिवेशन गरेको आरोप उनीहरुले लगाउँदै आएका छन्। हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, डडेल्धुराका सबै अधिवेशन बदर गर्नुपर्ने र वैधानिक रूपमा अधिवेशनको नयाँ मिति तय गर्नुपर्नेलगायत माग मल्ल पक्षको छ।

यता जिल्लामा सोमबार भएको जिल्ला अधिवेशनबाट नयाँ नेतृतव चयन भइसकेको छ। डडेल्धुराको सभापतिमा भीमबहादुर साउँद विजयी भएका छन्। यस्तै उपसभापतिमा लक्ष्मीप्रशाद अवस्थी, डिल्लीराज जोशी, सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन्। यस्तै सहसचिवमा प्रेमराज महर र गोबिन्दराज बोहरा निर्वाचित भएका छन्।

कमेन्ट लोड गर्नुस