डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चुनाव लड्दै देउवा दम्पती
डडेल्धुरा: प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि चुनाव लड्ने भएका छन्। उनी गृह जिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चुनाव लड्ने भएको डेल्धुराका जिल्ला सभापतिका उम्मेदवार भीमबहादुर साउदले बताए। देउवाले मन्जुरीनामा मार्फत उम्मेदवारी दिएर महाधिवेशन प्रतिनिधिमा चुनाव लड्ने तयारी गरेको उनले बताए।
काँग्रेस विधानको धारा १५ को उपधारा १(ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ। साउदका अनुसार देउवालाई विगतमा पनि डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चुनाव लडाएर ल्याउने गरिँदै आएको थियो।
‘उहाँ स्वतः महाधिवेशन प्रतिनिधि हुनुहुन्छ। तर हामीले प्रत्येक महाधिवेशनमा उहाँलाई जिल्लाबाटै पठाउने गरेका थियौं। भाउजू (देउवा पत्नी आरजु राणा)लाई पनि डडेल्धुराबाटै लडाउने भएका छौं उनले भने।
साउदका अनुसार गोविन्द बोहोरा, नैनसिंह महर, रघुवीर भट्ट, जनक कलौनी लगायतका नेताहरु अधिवेशनको तयारीमा जुटेका छन्।