सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको पुनर्वासका हात्ती पीडितलाई राहतको माग गर्दै नगर प्रमुखलाई ज्ञापन पत्र

२०७८ मंसिर २, ०८:१८ खबर संवाददाता

पुनर्वास, कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिकाका किसानहरुलाई वर्षेनी भारतीय दुधुवा नेश्नल पार्कबाट आउने जंगली हात्तीहरुले पीडित बनाउँदै आएको छ। यस वर्ष पनि पुनर्वास–८ र ९ का केही स्थानहरुमा असोज २४ गते आएको जंगली हात्तीको बथानले किसानका खेतमा लगाएको उखु नष्ट गरेको छ।

यस क्षेत्रको सो समस्या समाधानका लागि तिनै तहका सरकारलाई बारम्बार डेलीगेशनसहितको टोलीले ज्ञापनपत्र बुझाउँदा पनि हालसम्म सरकार पक्षबाट कुनै किसिमको निकास नहुँदा किसान झनै पीडित बनेका पुनर्वास नगरपालिका –९ का कृषक करन ऐडीले गुनासो गरे। उनले सरकारको ढिलासुस्तीका कारण खेतीबाली मात्रै नभई मानवीय क्षतिसमेत व्यहोर्नु परेको बताए।

बुधबार पनि दुधुवा वन्यजन्तु पीडित खाद्य अधिकार समूह पुनर्वासले हात्तीले नोक्सानी गरेका कृषकहरुलाई राहत उपलब्ध गराईदिन माग गर्दै पुनर्वासका नगर प्रमुख जीवनराज थापालाई ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्रमा एक हप्ता अघि पुनर्वास–९ का भीमबहादुर ऐडीको डेढ विघा उखु, करन ऐडीको दश कट्टा उखु र शेरे कुवँरको दश कट्टा उखु, त्यसैगरी पुनर्वास–८ का रमेश रानाको पाँच कट्टा उखुको क्षतिको विवरण उल्लेख गरिएको छ।

केही वर्षदेखि उक्त समूहले पुनर्वासी जनताका हकहितका लागि तिनै तहका सरकारसँग गुहार्दै आएको खाद्य अधिकार प्रवद्र्धक श्याम परियारले बताए।
 

कमेन्ट लोड गर्नुस