कैलालीमा बढ्यो काँग्रेस अधिवेशनको सरगर्मी, जिल्ला सभापतिमा ६ जनाको नाम चर्चामा
धनगढी : नेपाली काँग्रेसको पछिल्लो निर्णय अनुसार कैलालीमा पनि अधिवेशनको मिति तय भएसंगै चहलपहल बढ्दै गएको छ। सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा पालिका स्तरको अधिवेशन भइसकेको अवस्थामा कैलाली जिल्लामा भने आजदेखि वडा अधिवेशन भइरहेको छ। आज जिल्लाका १ सय २६ वडामा एकैसाथ अधिवेशन गरिने काँग्रेस कैलालीले जनाएको छ।
क्रियाशील सदस्य विवादको कारण कैलालीमा वडा अधिवेशनको मिति सर्दै आएको थियो। वडा अधिवेशनबाट छनोट हुने प्रतिनिधिहरुले जिल्ला कार्यसमितिको सभापति र पदाधिकारी को हुने भन्ने निर्क्यौल गर्ने भएकोले जिल्ला सभापतिको दौडमा रहेका नेताहरु निकै व्यस्त देखिएका छन्। सभापतिका दाबेदार भीम बडुवालले आफू पाँच वर्षदेखि चुनावी मैदानमै रहेको बताए। ’अघिल्लो अधिवेशनमा म दोस्रो भएको थिए। स्वाभाविक रुपले नै म त वेटिङ पार्टी सभापति हो नि,’ उनले भने, ’म पाँच वर्षदेखि चुनावी तयारीमै छु।’
कैलालीमा नेपाली काँग्रेसको पार्टी सभापतिको आकांक्षीमा आधा दर्जन नेताको नाम चर्चामा छ। वर्तमान जिल्ला उपसभापति प्रकाश बमले आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका छन्। सभापतिको दौडमा आफू पनि रहेको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले बताए। ’मैले आफ्नो वडामा त पहिले पनि सभापतिको उम्मेद्वार आफू हुने भनेको छु,’ उनले भने, ’वडा अधिवेशन सम्पन्न भएपछि औपचारिक घोषणा गर्ने तयारी छ।’ बम, बडुवाल, ओडसंगै नारायणदत्त भट्ट, गणेश देउवा र खेमराज चौधरीको नाम पनि चर्चामा छ।
यता आज हुने वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको कैलाली काँग्रेसले जनाएको छ। कैलालीमा कार्तिक ३० गते पालिका अधिवेशन हुने छ भने मंसिर ३ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन हुने छ। मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न भएपछि मंसिर १० गते जिल्ला अधिवेशन तोकिएको छ। यो पटक ६ जना नेताले सभापति हुन चाहेको काँग्रेस जिल्ला सभापति नरनारायण शाह मनुले बताए। ’अहिलेसम्म ६ जना नेताले सभापतिको उम्मेदवार हुने इच्छा जाहेर गरेका छन्,’ उनले भने, ’ वर्तमान उपसभापति प्रकाश बम, पूर्व सभापति नारायणदत्त भट्ट, महासमिति सदस्य भीम बडुवाल, नेता खेमराज चौधरी, धनगढीका मेयर नृपबहादुर वड र गणेश देउवाले सभापतिमा उठ्ने बताएका छन्।’
कैलाली काँग्रेसले वर्तमान सभापतिको अध्यक्षतामा १ हजार ५ सय १ सदस्यीय जिल्ला अधिवेशन मुल व्यवस्थापन समिति गठन गरेको जनाएको छ। यसैगरी सबै वडा र १३ पालिकामा निर्वाचन अधिकृत र निर्वाचन व्यवस्थापनका सबै सामाग्री पुगी सकेको कैलाली काँग्रेसले जनाएको छ।