सुदूर नेपाललाई विश्वसँग जोड्दै

अपराधीलाई राजनीतिक संरक्षण दिइँदा लम्की र टीकापुरमा अपराध बढेको आरोप

२०७८ कार्तिक २५, ११:३२ नारायण अवस्थी

धनगढी: मंगलबार राति कैलालीमा खुकुरी प्रहार गरेर एक युवकको हत्या गरियो। टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिकै लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्या गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार हत्यामा संग्लन भएको आरोपमा ८ जनालाई पक्राउ गरिएको छ।  बडुवालको नियोजित तरीकाले खुकुरी प्रहार गरी हत्या भएको परिवार तथा आफन्तको भनाई छ। उनको हत्यामा लम्की, चिसापानी र टीकापुरमा अपराधिक घटनामा सक्रिय समूह नै संग्लन रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पनि खुलेको छ। 

स्थानीयले कैलालीको टीकापुर, लम्की र चिसापानीमा घट्ने अपराधलाई राजनीतिक आडमा ढाकछोप गर्ने कार्य हुँदा अपराधिक गतिविधिले बढावा पाएको बताएका छन्।  लम्कीचुहा नगरपालिकाकी उपप्रमुख टिका थापाले लम्की, टीकापुर र चिसापानी क्षेत्र निकै असुरक्षित हुन लागेको बताइन्।  ‘दैनिक हुने अपराधका कारण कैलालीको लम्की, चिसापानी र टीकापुरमा असुरक्षा बढेको महसुस गरिएको छ’, उनले भनिन्, ‘यो क्षेत्रमा लागुऔषधको प्रयोग, दैनिक झै–झगडा, खुकुरी प्रहार जस्ता घटना घटिरहन्छन्।’

भुपेन्द्रको हत्यामा चिसापानीका नविन रावलको संलग्नता रहेको भुपेन्द्रका आफन्तले दाबी गरेका छन्। काठमाडौंदेखि कैलालीसम्म प्रहरीको पक्राउ सूचिमा रहेका व्यक्तिले उन्मुक्ति पाउँदा गुण्डागर्दी फैलिएको संविधान सभाका सदस्य एवं मृतक भुपेन्द्रका आफन्त भगत बडुवालको दाबी छ। ‘भुपेन्द्रको हत्यामा संलग्न भएको भनेर पहिचान गरिएका व्यक्तिहरुको संलग्नता अन्य अपराधका घटनामा पनि छ’, उनले भने, ‘विभिन्न घटनामा संलग्न भएर पनि कारबाही नहुँदा अपराधीहरुको मनोबल बढेको छ।’

चिसापानीका रावल समूहले त्यो क्षेत्रमा हरेक दिन कुनै न कुनै घटना घटाउन गरेको भए पनि कानूनी कारबाही भने कहिल्यै नभएको सर्वसाधारणले बताएका छन्। अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा नल्याउँदा अपराध गर्नेको मनोबल बढेको अधिकारकर्मी सरस्वती खड्काले बताए। ‘राजनीतिक दल र नेताहरुको संरक्षणका कारण अपराध गर्नेलाई कारबाही हुँदैन’, उनले भनिन्, ‘एकै व्यक्ति पटक–पटक अपराधमा संलग्न हुनुले सहजै उन्मुक्ति पाउने गरेको प्रष्ट पारेको छ। 

उक्त क्षेत्रमा अहिलेसम्म दर्जनौं अपराधमा संग्लनालाई कारबाही भएको छैन। सोही कारण अपराधले प्रसय पाएको छ। तर कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले प्रहरीले अपराधीलाई कहिल्यै उन्मुक्ति नदिने बताए। ‘प्रहरीले अपराधीलाई जहिल्यै निगरानीमा राखेको हुन्छ’ उनले भने, ‘टीकापुरको पछिल्लो घटनामा संलग्न भएको भनेर पहिचान गरिएका ८ जना पक्राउ गिरएको छ भने अन्यको पनि तीव्र खोजी भइरहेको छ।’

कैलालीको चिसापानी, टीकापुर र लम्की लगायतको दक्षिण–पूर्वी क्षेत्रमा दोषीलाई सहजै उन्मुक्ति हुँदा नै असुरक्षा बढेको त्यो क्षेत्रका नागरिकले बताएका छन्। सो क्षेत्रमा विभिन्न घटनाका अभियुक्त दुई समूह सक्रिय छन्। ती समूहमा चिसापानी, लम्की र टीकापुरका करिब ५० जना आवद्ध रहेको स्थानीयले बताएका छन्। दुवै समूहले एकअर्कालाई भेट्टाउनासाथ भौतिक आक्रमण गर्ने गरेका छन्।

कात्तिक महिनामा मात्रै त्यो क्षेत्रमा तीन जनाको ज्यान जाने गरी अपराधिक घटना घटेका छन्। भने, दैनिक खुकुरी, चक्कु प्रहार र झडप हुनु सामान्य भएको सर्वसाधारणले बताएका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस