एलपिएलको पब्लिकेसन पार्टनर ओसन पब्लिकेसन प्रालि
धनगढीः धनगढीमा आगामी माघ दोस्रो साताबाट आयोजना हुने विद्यालय स्तरको यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल–६) को पब्लिकेसन पार्टनर ओसन पब्लिकेसन प्रालि अनामनगर काठमाडौँ रहने भएको छ। विद्यालय स्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर लिगलाई काठमाडौँ अनामनगरमा रहेको ओसन पब्लिकेसन प्रालिले पब्लिकेसन पार्टनरका रूपमा प्रायोजन गरेको हो।
प्रतियोगितामा पब्लिकेसन पार्टनरका रूपमा रहने गरी आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाही र ओसन पब्लिकेसनका प्रबन्ध निर्देशक लेखनाथ घिमिरेबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। प्रतियोगिताको यो संस्करणमा देशभरका १० विद्यालय स्तरीय टिमको सहभागिता रहने शाहीले बताए।
लिग कम नक आउट फरम्याटमा खेलाइने प्रतियोगितामा १० टिमलाई २ पोलमा विभाजन गरेर प्रत्येक टिमले लिग चरणका ४ खेल खेल्न पाउने छन्। प्रत्येक टिममा १९ वर्षमुनिका ४ जना खेलाडी राख्न पाइने छ। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदीयमान खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिताका संयोजक भूपी सिंह धामीले बताए। त्यस्तै आसन्न संस्करणबाट प्रतियोगितालाई थप रोमाञ्चक बनाउन प्लेयर अफ द म्याच, गेम चेन्जर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत अवार्ड प्रदान गरिने छ।