प्रदेश नं १ मा छ जनामा सङ्क्रमण
विराटनगर: गएको २४ घण्टामा प्रदेश नं १ मा छ जनामा मात्र कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। सम्भवत असोज र कत्तिकको अहिलेसम्म एक दिनमा पाइएको यो सबैभन्दा कम सङ्क्रमित सङ्ख्या हो। आज देखिएका कोरोना सङ्क्रमितमा मोरङमा तीन, झापामा दुई र सुनसरीका एक जना छन्। यस प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङको विराटनगरमा तीन, झापाको भद्रपुर र कमल गाउँपालिकामा एक÷एक र सुनसरीको इटहरीमा एक जनामा कोरोना सङ्क्रमण देखिएको हो।
यस प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख सात हजार १८४ पुगेको छ भने यस भाइरसबाट मुक्त हुनेको सङ्ख्या एक लाख चार हजार ९१९ रहेको मन्त्रालयले जनाएको छ। यस प्रदेशमा अहिले पनि दुई हजार २६५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित छन्।
प्रदेशमा आज ४७ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् भने एक महिला सहित पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्ममा यस प्रदेशमा यस भाइरसबाट दुई हजार १४७ जनाको मृत्यु भएको छ।