देउसी भैलीको मौलिक पक्ष हराउँदै, पैसाको बार्गेनिङ बढ्यो
धनगढी: सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा देउसी भैलोको रौनक छ। कोरोना भाइरसको संक्रमणको दर कम भएको भन्दै निर्धक्क देउसी भैलीे खेलिँदै छ। कोरोना भाइरसको संक्रमणको दर कम भएको र अधिकांशले खोपसमेत लगाएको भन्दै देउसी भैलो खेलिदै गरिएको हो। तर नयाँ पुस्ताले देउसी भैली भट्याउने परम्परागत शैली भुलेका छन्। बिगतमा मध्यरातिसम्म देउसी भैली खेल्ने र आशिर्वाद दिने चलन भएपनि अहिले पैसा जम्मा गर्नकै लागि डिजेमा पप गीत बजाउँदै नाच्दै र तोकेर पैसा असुल्न थालिएको गुनासो गरिएको छ।
झिलिमिली बत्ती र फूलहरुको पर्वको रुपमा मनाइँदै आएको तिहार गत वर्ष कोरोनाको कारण डराएर मनाउनु परेको थियो। तर कोरोना विरुद्धको खोप लगाएसँगै संक्रमण पनि घटेको भन्दै यो वर्ष तिहार मनाउन सजिलो भएको छ। तिहार अरु पर्व भन्दा फरक ढंगले मनाइने गरिन्छ। विभिन्न प्राणीसँगै मान्छेको पनि पूजा गरिने तिहार सबैको प्रिय पर्व पनि हो।
तिहारसँगै देउसी र भैली खेल्दै रमाउने पक्षसमेत जोडिएको हुन्छ। तर हिजोआज देउसी र भैली खेल्दा यसको मौलिक पक्षको बेवास्ता गर्न थालिएको सांस्कृतिक अध्येता पदमराज जोशी (प्रभात) बताउँछन्। ‘तिहारको मौलिक पक्ष हराउन थालेको छ। देउसी भैली खेल्दा आधुनिक पप गीत डिजेमा बजाउन थालिएको छ’, उनले भने, ‘आफैं गीत रचेर आशिर्वाद दिँदै खेलिने देउसी भैली पैसाको बार्गेनिङ गर्ने मेसो बनेको छ।’
हिजोआज तिहारमा खेलिने देउसी भैलीको शैली पूरै फेरिएकोमा अग्रजहरुले चिन्ता गरेका छन्। तिहारमा खेलिने देउसी र भैलीको मौलिक पक्ष ओझेलमा परेको भन्दै मौलिक पक्षको जगेर्ना गर्नुपर्नेमा जोड दिइएको छ। रमाइलो र आपसी सद्भाव साटासाट गर्न खेलिने देउसी र भैली पैसा संकलन गर्ने माध्यम बनेको भन्दै धनगढीका महाकाव्यकार ज्योतिष पण्डित मनिराज जोशीले चिन्ता व्यक्त गरे। ‘हाम्रो समयमा देउसी भैली खेल्दा रमाइलो र आशिर्वाद दिनका लागि खेलिन्थ्यो। हिजोआज हल्ला गर्दै बेसुरमा गाउने गरिएको छ’, उनले भने।
देउसी र भैली खेल्नुको फरक आनन्द हुने भएपनि त्यो आनन्द अहिले लोप भएको धनगढीका बाबुराजा श्रेष्ठले बताए। ‘डिजेमा चर्का गीत लगाएर बेतालमा नाचेर पैसाको बार्गेनिङ गर्ने कार्यले तिहारमा खेलिने देउसी र भैलीको मौलिक पक्षमा प्रहार भएको छ’, उनले भने, पश्चिमा शैलीमा देउसी भैली खेल्दा यसको मौलिक पक्ष हराउँदै गएको छ।’
तिहारमा खेलिने देउसी र भैलीको मौलिक परम्परा जगेर्ना गर्दै युवा पुस्तालाई मौलिक पक्षबारे सिकाउँदै देउसी र भैलीको सांस्कृति पक्ष र मौलिक पाटो जोगाउनुपर्ने भन्दै कोरियाबाट फर्किएका धनगढीका युवाहरुले भने मौलिक पोषाक र तरिकाले देउसी भैली खेलेका छन्।