सुरक्षाको कारण देखाउदै मौलिक चाडपर्व मनाउन राज्य नै बाधक
स्थानीय प्रशासनले सांस्कृतिक चाडपर्वहरुमा रोक लगाएको भन्दै बिरोध गरिएको छ। केही वर्षयता सांस्कृतिक पर्वमा असुरक्षा बढ्ने भन्दै स्थानीय प्रशासनको मनाउन रोक लगाउने गरेकोमा नागरिकले बिरोध गरेका हुन्।
हिन्दु धर्मावलम्बीहरुका चाडपर्व तिज, गौरा, दशैं–तिहार, र होली मनाउन स्थानीय प्रशासनले समय सीमा तोक्दै आएको भन्दै धनगढीका स्थानीयले बिरोध गरेका छन्। नागरिकलाई सुरक्षा दिनुको सट्टा स्थानीय प्रशासनले देउसी भैलो खेल्न समय निर्धारण गरेको बेठीक भएको वेदप्रकाश उपाध्यायको गुनासो छ।
पर्व मनाउने हाम्रो वैदिक परम्परा छ। त्यो नबुझेर प्रशासनले समय तोकेको छ।ु लक्ष्मीको पूजा गरेर दान दिनुपर्ने हुन्छ तर सुरक्षा र कोरोना संक्रमणको त्रास देखाउदै भैली खेल्न रोक लगाउदा लक्ष्मी पूजनपछि दान गर्न पाउने सांस्कृतिक अधिकार त हनन् हुन पुग्यो।
स्थानीय प्रशासनले हिन्दुहरुका मौलिक चाडपर्व मनाउने तरिका र समयमा रोक लगाएको भन्दै सर्वसाधारणले बिरोध गरेका हुन्। मौलिक पर्व मनाउने समय आउनासाथ स्थानीय प्रशासनले शान्ती सुरक्षाको कारण देखाएर पर्व मनाउने समय छोट्याउन आदेश दिनु गलत भएको योगेन्द्र खतिवडाले बताए। ुराज्यले नागरिकले मान्ने धर्म, परम्परा, संस्कृति र पर्व मनाउन सहयोग गनुपर्नेमा रोक लगाउने काम भएको छ। यो गलत हो, उनले भने।
कैलाली लगायतका स्थानीय प्रशासनले पर्व मनाउन रोकटोक गरेको भन्दै धनगढीको सन्तोषीटोलका ताराप्रसाद जोशीले पनि असन्तुष्टि पोखेका छन । पहिले पहिले रातभर भैली खेल्ने गर्दथ्यौँ तर दुई चार वर्षदेखि प्रशासनले समय तोक्न थालेको छ। उनले भने, खै किन यस्तो गर्छन थाहा हुन सकेको छैन।
केही वर्षदेखि दशै, तिहार, होली, तीज, गौरा जस्ता चाडपर्व मनाउन स्थानीय प्रशासनले रोक लगाएको गुनासो व्यापक रुपमा उठेको छ। दुई वर्षदेखि कोरोना महामारीको संक्रमणको डर देखाएर चाडपर्व मनाउन रोक लगाइदै आएको छ। हिन्दुहरुका विशेष पर्वहरुमा मात्रै सरकारी आदेश आउनुको कारण बुझ्न नसकेको तारानगरका स्थानीय सुभाषचन्द्र भण्डारीको छ।
हामीले निर्धक्क चाडपर्व मनाउन पाउनुपर्ने हो तर प्रशासनले केही वर्षदेखि समय तोक्ने गरेको छ। उनले भने, हिन्दुका चाडपर्वमा मात्रै किन समय तोक्ने काम हुन्छ। अरुका चाडपर्वमा त रातभर सेलिब्रेसन गर्न दिइन्छ।
स्थानीय प्रशासनले यो वर्ष तिहारमा देउसी भैलो खेल्न पाउने समय सीमा साँझ ८ बजेसम्म तोकेको छ। साँझ ८ बजेपछि देउसी भैली खेल्न नपाउने प्रशासनको निर्देशन गलत भएको पुष्पराज जोशी बताउँछन्। उनले भने, कोरोना सर्ने डर देखाएर मौलिक पर्व र धर्म मास्न राज्य नै लागेको छ।
धनगढीका केपी चौधरीले पनि प्रशासनको आदेश गलत भएको भन्दै बिरोध गरेका छन्। उनले भने, स्थानीय प्रशासन मात्रै दोषी नभएर स्थानीय सरकार पनि यो निर्णय आउनुमा दोषी छ।
धनगढीका सुरेन्द्र शाहले पनि प्रशासनले पर्व मनाउन दिनुपर्ने बताएका छन्। एकै टोलका आठ दस जनाले देउसी खेल्दा कोरोना सर्छ भन्नु हास्यास्पद छ। देउसी भैलो खेल्न रोक लगाउनु हुँदैन। उनले भने।
सुरक्षा र कोरोना भाइरसको संक्रमणको त्रास रहेको भन्दै साँझ ८ बजेपछि भैलो खेल्न रोक लगाएको कैलाली प्रशासनले जनाएको छ। ुसुरक्षा र कोरोनाको संक्रमणको जोखिम रहेकोले ८ बजेसम्म मात्रै देउसी खेल्न भनिएको हो। प्रमुख जिल्ला अधिकारी किरण थापाले भने।
चाडपर्वमा रमाइलो गर्न सबैले चाहेका हुन्छन्। परिवार तथा आफन्तसँग रमाइलो गर्न चाड पर्वको समयमा अबेरसम्म खानपान र किनमेल गर्न नागरिकको चाहना रहेको हुन्छ। चाडपर्वमा निर्धक्क भएर रमाइलो गर्न राज्यले प्रेरित गर्नुपर्नेमा शान्ती सुरक्षाको कारण देखार प्रतिबन्ध लगाउनु गलत भएको टिप्पणी गरिएको छ।