बाजुरामा भालुको आक्रमणबाट दुई घाइते
भालुको आक्रमणमा परी दुई जना घाइते भएका छन्। घाइते हुनेमा बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ का ४० वर्षीय बमबहादुर धामी र सोही गाउँपालिका–३ की १८ वर्षीया शान्ति बुढा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब निरीक्षक लोकेन्द्रसिंह गुरुङले जानकारी दिएका छन्।
शुक्रबार दिउँसो गाउँ नजिकैको जङ्गलमा दाउराघाँस गर्न गएका बेला घाइते दुवै जनालाई दुई भालुले आक्रमण गरेको बताएका छन्। आक्रमणमा घाइते भएका बमबहादुर र शान्तिले आफु बाँच्नको लागि भालुसँग प्रतिकार गर्दा दुवै भालुको मृत्यु भएको बताए। घाइते दुवैको अहिले स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।
यसअघि गत मङ्सिर ४ गते खप्तड छेडेदह गाउँपालिका–४ खातीगाउँमा पनि भालुको आक्रमणबाट दुई महिला गम्भीर घाइते भएका थिए। रासस