सुदूर नेपाललाई विश्वसँग जोड्दै

आइपिएलको मुख्य प्रायोजक ‘भिभो’ एलपीएलमा मोबाइल पार्टनर

२०७८ कार्तिक १७, ०९:११ खबर संवाददाता

धनगढी: धनगढीमा आगामी माघ दोश्रो साताबाट आयोजना हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग९एलपीएल० लाई भिभो मोबाइल कम्पनीले मोबाइल पार्टनरका रूपमा प्रायोजन गरेको छ। भिभो मोबाइल कम्पनी र एलपीएलको आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्स बिच सम्झौता भएको हो। प्रतियोगिताको आगामी संस्करणमा मोबाइल पार्टनर रहने गरी लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाही र भिभोका एरिया सेल्स म्यानेजर अर्जुन मल्लले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। 

विश्व चर्चित क्रिकेट प्रतियोगिता मानिने इन्डियन प्रिमियर लिगमा समेत मुख्य प्रायोजक रहेको भिभोले नेपाली क्रिकेटको उत्थानका लागि समेत अग्रसरता लिएको भन्दै अध्यक्ष शाहीले खुसी व्यक्त गरे। उनले यो सम्झौताबाट नेपाली ग्रास रुट क्रिकेटको उत्थानमा थप टेवा पुग्ने बताए। क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा लिटल फ्लावर प्रिमियर लिगको छैटौँ संस्करण माघ दोश्रो साताबाट सञ्चालन हुने छ। लिटल फ्लावर स्पोस्टर्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले कोरोना महामारीबाट विश्व नै प्रभावित बनेको भए पनि विद्यालय स्तरका खेलाडीको खेल क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको आगामी संस्करणलाई निरन्तरता दिइने बताए। 

‘ग्रास रुटको क्रिकेटलाई चलायमान बनाउन अति जरुरी बनेको हुनाले पनि हामीले आउँदो संस्करणलाई निरन्तरता दिनुपर्ने बाध्यतालाई स्वीकार गरेका हौँ।’ उनी भन्छन्,  ‘कोरोनाले आर्थिक क्षेत्र नराम्ररी प्रभावित बनेको त छ नै तर पनि हामीले सुरु गरेको अभियानलाई सकेसम्म ओझेलमा पर्न दिनु हुन्न भनेर यसलाई निरन्तरता दिने प्रयास गरिएको हो।’ 

प्रतियोगितामा यो संस्करणमा देशभरका १० विद्यालय स्तरीय टिमको सहभागिता रहने शाहीले बताए। जसमा लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल लम्की कैलाली, स्टेपिङ्ग स्टोन इङ्लिस स्कुल धनगढी कैलाली, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली र विद्याभुषण पब्लिक स्कुल मोहनपुर गेटा कैलाली छन्। त्यसै गरी सत्यवती एकेडेमी अत्तरिया कैलाली, होलिल्यान्ड सेकेन्डरी स्कुल अत्तरिया कैलाली,  शारदा सरस्वती मावि दोधारा चाँदनी कञ्चनपुर, हिमालयन व्हाईट हाउस वर्ल्ड स्कुल काठमाडौँ र नेक्सस इन्टरनेसनल एकेडेमी काठमाडौँले पनि सहभागिता जनाउने छन्। 

लिग कम नक आउट फरम्याटमा खेलाइने प्रतियोगितामा १० टिमलाई २ पोलमा विभाजन गरेर प्रत्येक टिमले लिग चरणका ४ खेल खेल्न पाउने छन्। प्रत्येक टिममा १९ वर्षमुनिका ४ जना खेलाडी राख्न पाइने छ। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदीयमान खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिताका संयोजक भूपी सिंह धामीले बताए। त्यस्तै आसन्न संस्करणबाट प्रतियोगितालाई थप रोमाञ्चक बनाउन प्लेयर अफ द म्याच, गेम चेन्जर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत अवार्ड प्रदान गरिने छ।

कमेन्ट लोड गर्नुस