पन्ज्युनयाँ क्रिकेटः कैलपाल फाइनलमा, सर्मोली ४ विकेटले स्तब्ध
विनोद सिंह विष्ट, बैतडीः कैलपाल क्रिकेट क्लब, दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनल खेलमा कैलपालले जागृती युवा क्लब, सर्मोलीलाई ४ विकेटले स्तब्ध पारेको हो।
सर्मोलीले दिएको ९६ रनको सामान्य लक्ष्य कैलपालले १४ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो। जसमा प्रदीप चन्द र राजु भाटले १८÷१८ र महेश चन्दले १३ रनको योगदान गरे। सर्मोलीका तिलक कार्कीले २ विकेट लिए। त्यसअघि पन्ज्युनयाँ खेल मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको सर्मोलीले १७ दशमलव ४ ओभरमा अलआउट हुदै ९५ रन मात्रै बनाउन सक्यो। उसका लागि लोकेन्द्र कार्कीले ३४ र तिलक कार्कीले २६ रन जोडे।
कैलपालका लागि ३ विकेट हात पारेका महेश चन्द म्यान अफ द म्याच भएका आयोजक सुशितम युवा क्लबका उपाध्यक्ष हेमन्तसिंह कार्कीले जानकारी दिए । पराजित भएसंगै सर्मोली सेमिफाइनलबाटै घर फर्किएको छ। फाइनलको यात्रा तय गरेको कैलपालले उपाधिका लागि भोलि आयोजक शुसितम युवा क्लबसंग खेल्नेछ। उपाधि भिडन्त बिहान १० बजेपछि हुने जनाइएको छ। सुशितम युवा क्लब पन्ज्युनयाँको आयोजनामा कात्तिक ७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा बैतडी र दार्चुलाका गरि १२ टोली सहभागी रहेका थिए।
प्रतियोगिताको विजेताले ७७ हजार ७ सय ७७ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैंया पुरस्कार पाउने सुशितम युवा क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताए। यस्तै म्यान अफ द सिरिजलाई ५ हजार ५ सय ५५, बेस्ट बलर र बेस्ट ब्यास्टम्यानलाई समान ३ हजार ३ सय ३३ रुपैैंया पाउनेछन्।
यसअघि पहिलो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कपको उपाधि विरेन्द्र नाथको कप्तानीमा रहेको दोगडास्टार क्लब, दोगडाकेदार बैतडीले हात परेको थियो।