सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालले लेबनानको सामना गर्ने

२०७८ कार्तिक १४, ०७:४३ रासस

काठमाडौँ: एएफसी यु–२३ एशिया कप छनोट चरणको अन्तिम खेलमा नेपालले आज लेबनानको सामना गर्नेछ। यसअघिका दुवै खेलमा पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा जित हासिल गर्दै प्रतियोगिताको सुखद अन्त्यको लक्ष्यमा छ। नेपाल र लेबनानवीचको खेल आज अपराह्न ४ः४५ बजे ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुनेछ।

नेपाल र लेबनानका लागि यो खेल प्रतिष्ठाको लागि मात्र हुनेछ। दुवै टोली अघिल्ला दुई खेलमा पराजित भइसकेका छन् भने प्रतियोगिताबाट पनि बाहिरिसकेका छन्। समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० गोलअन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा घरेलु टोली ताजकिस्तानसँग ६–० गोअन्तरले पराजित भएको थियो।

ताजकिस्तान र इरान समान दुई खेलमा समान शीर्ष छ अङकसहित पहिलो र दोस्रो स्थानमा छन्। तेस्रो स्थानका लेबनान र चौथो स्थानको नेपाल अङ्कविहीन छन्। त्यस्तै ताजकिस्तान र इरानविरुद्धको खेलले समूह ‘बी’ को विजेताको टुङगो लाग्ने छ। यस समूहको शीर्ष टोलीले एएफसी यु २३ एशियन कप खेल्नेछन्। 

यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एशियन कपमा छनोट हुनेछन्। उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता आगामी सन् २०२२ को जुन १ देखि १९ तारिखसम्म हुने तालिका छ।
 

कमेन्ट लोड गर्नुस