कञ्चनपुरका ९२ वटै वडामा एमालेको सर्वसम्मत नेतृत्व चयन
कञ्चनपुरः कञ्चनपुरको नौ वटा स्थानीय तहका ९२ वटै वडामा सर्वसम्मतरुपमा नेकपा (एमाले) को वडा कमिटीको पदाधिकारी चयन भएको छ। शुक्रबार भएको अधिवेशनले सर्वसम्मत पदाधिकारी चयन गरिएको पार्टीका जिल्ला सचिव सुरेन्द्र विष्टले बताए। उनका अनुसार वडामा अध्यक्षसहित उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित बढीमा ३१ सदस्यीय कमिटी चयन गर्न सकिने विधानमा व्यवस्था छ।
सोही प्रावधानअनुसार वडा अधिवेशनबाट नगर अधिवेशनका प्रतिनिधि पनि चयन गरिएका छन्। भीमदत्त नगरपालिकाका १९, दोधारा–चाँदनीका १०, बेदकोटका १०, शुक्लाफाँटाका १२, कृष्णपुरका ९, बेलौरीका १०, पुनर्वासका ११, लालझाडीका ६ र बेलडाँडीका ५ वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ। एमाले कञ्चनपुरमा १० हजारभन्दा बढी संगठित सदस्य रहेका छन्।
कात्तिक ६ गतेका लागि तोकिएको वडा अधिवेशन बेमौसमी वर्षापछि आएको बाढी र डुबानका कारण स्थगित गरिएको थियो।