पूर्णरुपमा यातायात सुचारु नहुँदा सुदूर पहाडमा खाद्य संकटको चिन्ता
धनगढीः बाजुराका उत्तरी भेगमा विगतदेखि नै खाद्य संकट हुँदै आएको हो। लगभग प्रत्येक वर्ष खाद्य संकट भोग्दै आएका जिल्लावासीले असोज अन्तिम साताको वर्षाका कारण झनै दुःख पाएका छन्। लामो समयदेखि बन्द रहेको साँफे–मार्तडी सडक वर्षाले भत्किएपछि अहिले जिल्लाको सडक सम्पर्क बिच्छेद भएको छ।
सडक भत्किँएकाले धनगढी लगायत अन्य क्षेत्रबाट खाद्य सामाग्री ढुवानी गर्न सकिएको छैन। तर वैकल्पिक मार्गको प्रयोग गर्ने प्रयास गरिएको स्थानीय प्रशासनले बताएको छ। बाजुराका निमित्त प्रमुख जिल्ला अधिकारी समीर भण्डारी भन्छन्, ‘खाद्यान्न ढुवानीको प्रयास थालेका छौं। सडक भत्किँएको ठाउँमा बोकेर ल्याउदैछाै।’
यातायात सेवा पूर्णरुपमा सञ्चालन नहुँदा सुदूरपश्चिमका अन्य पहाडी जिल्लामा पनि खाद्यान्नको अभाव हुन थालेको छ। प्रदेशका बझाङ, बाजुरा लगायतका जिल्लाहरुमा खाद्य सामाग्री ढुवानी नहुँदा अभाव हुँदैछ।
वर्षाले सबैभन्दा बढी क्षति भएको बझाङमा पनि अझै पूर्णरुपमा यातायात सेवा सुचारु भएको छैन। जिल्लामा रहेको खाद्य सामाग्री ढुवानीका लागि पेट्रोलियम पदार्थको पनि अभाव छ। सडक मर्मतमा समय लाग्ने देखिएकाले वैकल्पिक मार्ग निर्माणको काम सुरु गरेको बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए। उनले भने, ‘जिल्ला अझै सडक सम्पर्कमा जोडिएको छैन। वैकल्पिक मार्गको प्रयास थालेका छौ। खाद्यान्न ढुवानी गर्न पाएका छैनौ तर अहिलेसम्म संकट निम्तिएको छैन।’
धान कटानीको काम लगभग सकिएकाले चामलको अभाव नहुने अनुमान गरिएको भएपनि त्यहाँ खाने तेल, दाल, पिठो, तथा पेट्रोलियम पदार्थको अभाव हुने देखिएको छ। तरकारी लगायतमा पनि पहिरोका कारण क्षति भएकाले खाद्य संकट अझै बढी हुने देखिएको छ।
तर दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले यातायात सञ्चालन भइसकेकाले समस्या नहुने बताए। बैतडीमा पनि यातायात सञ्चालन भएको छ। असोज ३१ गतेदेखि तीन दिनसम्मको वर्षाका कारण पहिरो जाँदा बन्द भएका पहाडी जिल्लाका सडकहरु अझै पूर्णरुपमा सुचारु भएका छैनन्। पहाडी जिल्लाहरुमा खाद्य सामाग्रीसँगै औषधिको समेत अभाव भइरहेको त्यहाँका अधिकारीहरुले बताएका छन्।