बैतडी सदरमुकाममा खानेपानीको हाहाकार
आशिष माल-बैतडीः बैतडीमा खानेपानीको हाहाकार भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ४ गढी, गोठालापानी र शाहिलेकमा खानेपानीको हाहाकार भएको हो। बेमौसमी अविरल बर्षाका कारण आएको बाढी र पहिरोले मुहानमा पहिरो जाँदा खानेपानीको समस्या भएको बताइएको छ।
खानेपानीको मुहानमा ठुलो पहिरो जाँदा तथा बाढी र पहिरोले ठाउँठाउँमा पाइपहरु भाच्चिँदा समस्या भएको बताइएको छ। सदरमुकाम गढी, गोठालापानी र शाहिलेकमा २ सय ८० बढी घरधुरी छन्। सो वडामा वर्षा पछि पानी नआउँदा समस्या भएको स्थानीय प्रकाश चन्दले बताए।
उनले भने, 'गाउँमा एक गाग्री पानीका लागि दिनभर बिताउनुपर्ने बाध्यता छ। बस्तुभाउ त परै जाओस् मानिसले खाने पानी कहाँबाट ल्याउने भन्ने चिन्ताले सताइरहको छ। पानी आउन बन्द भएपछि सदरमुकामका व्यापार तथा होटल व्यवसायीहरुलाई समस्या भएको छ।'
खानेपानीको समस्या भएपछि जिल्ला सदरमुकाम गढीमा रहेको हनुमान ध्वज गुल्मले पानी सहयोग गरेको छ। गुल्ममा रहेको पानी गढीका स्थानीय तथा होटल व्यवसायीहरुलाई गढी का स्थानीय र व्यवसायीहरुलाई खानेपानी सहयोग गरिरहेको हनुमानध्वज गुल्मका गुल्मपति खिमबहादुर रानाले बताए।
उनका अनुसार गढीमा रहेका सरकारी कार्यालयहरुलाई पनि खानेपानी सहयोग गरिएको हो। जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, जिल्ला कारागार, जिल्ला प्रसाशन लगायत स्थानीय र व्यवसायीहरुलाई पानी सहयोग गरिरहेको हो।
पानीको समस्या भएको हप्ता दिन भइसक्दा समेत कुनै सुनुवाई नभएको स्थानीयले गुनासो गरेका छन्।
नगर खानेपानी संस्था बैतडीका अध्यक्ष कर्णबहादुर चन्दले भने खानेपानीको मुलमा ठुलो पहिरो आउँदा समस्या भइरहेको बताएका छन्। उनले एक- दुईदिन भित्रै सदरमुकाममा पानी पुर्याउने बताएका छन्।