बझाङको ’लाइफलाइन’ सडक क्षतिग्रस्त, कहिले होला सञ्चालन ?
धनगढीः गत असोज ३१ गते रातीदेखि तीन दिनसम्म परेको अविरल वर्षाका कारण सुदूर पहाडका सबै राजमार्गहरु अवरुद्ध भएका थिए। कैलाली–डडेल्धुरा जोड्ने भीमदत्त राजमार्ग सञ्चालन भए पनि अन्य जिल्लाको आवातजावत पनि अहिले पूर्ण रुपमा सञ्चालन भएको छैन।
बैतडीदेखि बझाङको सदरमुकाम चैनपुर जोड्ने जयपृथ्वी राजमार्गमा पनि ठूलो क्षति भएको छ। दर्जन भन्दा बढी स्थानमा गएको पहिरोका कारण उक्त सडक अवरुद्ध भएको हो। केही स्थानमा खसेको पहिरो हटाइएको भए पनि दुई स्थानमा तत्काल मर्मत सम्भव नै नभएपछि राजमार्ग सञ्चालन नै अनिश्चित बनेको राजमार्ग मर्मतको जिम्मा पाएको सडक डिभिजन कार्यालय बैतडीका इन्जिनियर बर्खबहादुर कठायतले बताए। ‘दुई स्थानमा बढी नै क्षति भएको छ,’ उनले भने, ‘उक्त ठाउँमा सजिलै काम गर्न सकिने अवस्था छैन।’
राजमार्गअन्तर्गत सबैभन्दा बढी क्षति सेती नदीले सडक भत्काउदा भएको छ। सडकखण्डमा पर्ने जालेबगरमा सेती नदीले चार सय मिटरभन्दा बढी बाटो भत्काउदा राजमार्ग पूर्ण रुपमा बन्द भएको हो। इन्जिनियर कठायतका अनुसार उक्त स्थानमा अहिले मर्मत गर्न सकिने सम्भावना छैन। नदीमा पानीको सतह नघटेको र माथि भिर भएका कारण मर्मत गर्न सकिने सम्भावना नरहेको उनले बताए।
सडक डिभिजन कार्यालय बैतडीका अनुसार उक्त स्थानमा नयाँ ट्याक खोल्न नसकिने गरी भत्किएको इन्जिनियर कठायतले बताए। ‘जालेबगरमा भत्कीएको सडक मर्मत गर्न दुई महिनासम्म लाग्न सक्छ,’ उनले भने, ‘उक्त ठाउँमा नयाँ ट्याक खोल्न सकिने बाटो पनि छैन।’ जयपृथ्वी राजमार्गअन्तर्गत नै नारुगाढमा समेत निकै ठुलो क्षति भएको छ।
उक्त स्थामा पनि दुई सय मिटरभन्दा बढी सडक पहिरोले भत्काएको छ। उक्त स्थानमा भने नयाँ ट्याक खोले सवारी सञ्चालन गर्न सकिने सम्भावना रहेको छ। त्यसका लागि अहिले सडक डिभिजन कार्यालयले काम गरिरहेको बताइएको छ। दुई स्थानबाहेक अन्य ठाउँको पहिलो पन्छाउने काम जारी रहेको छ। तर जालेबगरमा भएको क्षतिका कारण राजमार्ग सञ्चालन कहिले हुन्छ भन्ने निश्चित छैन।
राजमार्ग अवरुद्ध भएपछि बझाङको अवातजावत पूर्ण रुपमा बन्द भएको छ। त्यसका लागि वैकल्पिक मार्ग तयार गर्नुपर्ने माग गरिएको छ। झरेबगरबाट जयपृथ्वी नगर हुँदै चैनपुर जाने ग्रामिण सडक छ। तर उक्त सडक पनि वर्षाका कारण अवरुद्ध भएको छ। ग्रामिण सडकलाई मर्मत गरेर सदरमुकामसँगको आवतजावत सहज बनाउनु पर्ने माग उठिरहेको छ।