सुदूर नेपाललाई विश्वसँग जोड्दै

११ महिनामा साढे २८ सय विदेशी पर्यटक पश्चिमी नाकाबाट भित्रिए

२०७५ पुष ४, ०१:०० जनक विष्ट

सुदूरपश्चिम प्रदेशका पर्यटकीय स्थलहरु विदेशी पर्यटकको रोजाईमा पर्न सकेका छैनन्। पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा आन्तरिक पर्यटकको संख्यामा उल्लेख्य बृद्धि भएपनि भारत हुदै तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकहरुको रोजाईमा यहाँका पर्यटकीय स्थलहरु पर्न नसकेका हुन्। तर सुदूरपश्चिम भएर काठमाडौँ पोखरा लगायत देशका अन्य ठाँउ घुम्न जाने पर्यटकको संख्या भने वर्षेनी वृद्धि हुदै गएको छ। ११ महिनामा १० लाख पर्यटक नेपाल भित्रिदा सुदूरपश्चिम प्रदेशका सीमा नाकाहरुबाट त्यस्को शुन्य दशमलव ३ प्रतिशत विदेशी पर्यटक भित्रिएका छन्। अध्यागमन कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार सन् २०१८ को नोभेम्बरसम्म पश्चिमी सीमानाका गड्डा चौकी भएर नेपाल आएका पर्यटकको संख्या सन् २०१७ को तुलनामा केही बढी छ।

तर तिनीहरुमध्ये सुदूरपश्चिम मात्रै घुमेका वा घुम्न चाहने पर्यटकको संख्या भने वृद्धि हुन नसकेको अध्यागमन कार्यालय कञ्चनपुरका अध्यागमन अधिकृत पदमराज भट्टले बताए। उनका अनुसार २०१८ को ११ महिनाको अवधीमा २ हजार ७ सय ६८ जना पर्यटक पश्चिमी सीमा नाकाबाट आएका छन् तर अघिल्लो वर्ष २ हजार ७ सय ४५ जना मात्र आएका थिए। सरकारले सञ्चालन गरेको नेपाल भ्रमण वर्ष २०२० ले देशमा पर्यटकीय गतिविधि बढेका बेला सुदूरपश्चिम प्रदेशमा भने पर्यटकीय स्थलको प्रचार प्रसारका लागि उल्लेख्य प्रयास नभएकै कारण विदेशी पर्यटक यहाँका पर्यटकीय क्षेत्रमा पुग्न सकेका छैनन्।

यता कैलालीको गौरीफन्टा नाका भएर आउने पर्यटकको संख्यामा पनि वृद्धि भएको छ। तर उनीहरु पनि देशका अन्य स्थानमा घुम्नका लागि गएपनि सुदुरपश्चिम प्रदेशका पर्यटकीय क्षेत्रमा पु¥याउन सकिएको छैन्। अध्यागमन कार्यालय कैलालीका अध्यागमन अधिकृत ओमकार शाहले यहाँका पर्यटकिय गनतव्य बारे जानकारी नहुदा पर्यटकको संख्या बढ्न नसकेको बताए। अधिकारीहरुका अनुसार कञ्चनपुरको शुँक्लाफाटा राष्ट्रिय निकुञ्जमा घुम्ने विदेशी पर्यटकको संख्या विगतको तुलनामा वृद्धि भएपनि त्यो संख्या अत्यन्तै न्युन छ। एक बर्षमा झण्डै ३ हजार पर्यटक शुक्लाफाँटामा घुमेकोमा त्यसमा झण्डै ६० जना मात्रै विदेशी पर्यटकहरु रहेका छन्।

यहाँका अन्य पर्यटकीय स्थलको तुलनामा शुक्लाफाँटा प्रचार प्रसारमा आएको र राजमार्गबाट नजिक भएका कारण विदेशी पर्यटकको स्ंख्या बढेको पर्यटन व्यवसायी बताउँछन्। सुदूरपश्चिम भएर काठमाण्डौँ पोखरा लगायतका देशमा घुम्न जाने पर्यटकलाई यहाँका पर्यटकीय स्थलमा घुमाउनका लागि राष्ट्रियस्तरमै प्रचार प्रसारको आवश्यकता रहेको कञ्चनपुरका पर्यटन व्यवसायी परमानन्द भण्डारीले बताए। सुदूरपश्चिमलाई पर्यटनको खानी भनिदै आएपनि सरकारी स्तरबाट पर्यटन प्रवद्र्धनका लागि खासै पहल हुन सकेको छैन् । नेपाल पर्यटन बोर्डले कञ्चनपुरमा २०६१ सालमा सूचना केन्द्र स्थापना गरेपनि पर्यटन सम्बन्धीका गतिविधि गरेको देखिदैन्। सूचना केन्द्रलाई कार्यक्रम कार्यान्वयन गर्न सक्ने अधिकार नदिइएको पर्यटन बोर्ड कञ्चनपुर सूचना केन्द्रका प्रमुख थानेश्वर लेखकले बताए।
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस