सुदूर पहाडमा कहिले हुन्छ पूर्ण रुपमा विद्युत सेवा सुचारु ?
धनगढी: नेपाल विद्युत प्राधिकरणले सुदूरपश्चिमका ७ पहाडी जिल्लामा अझै विद्युत सेवा सुचारु गर्न सकेको छैन। सुदूरपश्चिममा माग अनुसार बिजुली दिन नसकेको प्राधिकरणले वर्षापछि अवरुद्ध भएको सेवा सुचारु गर्न नसकेको हो। पहाडी जिल्लामा पूर्णरुपमा विद्युत सेवा सुचारु गर्न अझै केही दिन लाग्ने प्राधिकरणले जनाएको छ।
ग्रामीण क्षेत्रमा क्षतिको विवरण संकलन गर्नै बाँकी छ भने केही जिल्ला सदरमुकाममा भने बिजुली बल्न थालेको छ। विगतदेखि नै बाढीपहिरो र हावाहुरीले लाइनमा आउने समस्या समाधान गर्न प्राधिकरणले समय लगाउँदै आएको छ।
डडेल्धुरा लगायतका जिल्ला सदरमुकामा बिहीबारदेखि विद्युत सेवा सुचारु भए पनि ग्रामिण क्षेत्र र अन्य पहाडी जिल्लामा भने विद्युत सेवा अवरुद्ध छ। गत आइतबारदेखि तीन दिनसम्म भएको वर्षापछि अवरुद्ध भएको विद्युत सेवा अझै सुचारु हुन नसकेको डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका स्थानीय भोजराज अवस्थीले बताए। ‘सदरमुकाममा बत्ती भएपनि गाउँहरुमा बिजुली छैन। बिजुली नहुँदा फोन चार्ज गर्न पनि सदरमुकाम जानुपर्ने अवस्था छ’ उनले भने।
विद्युत सेवा अवरुद्ध भएपछि पहाडी जिल्लामा अधिकांशका मोबाइल फोन पनि बन्द भएका छन्। बाढीपहिरोले ठूलो क्ष्ति भएको समयमा विद्युत नहुँदा थप पीडा भाग्नु परेको पहाडी जिल्लाका बासिन्दाको गुनासो छ। विद्युत सेवा अवरुद्ध भएपछि पुरै जिल्ला अन्धकारमय भएको बझाङका पत्रकार प्रताप ओलीले बताए। ‘बझाङमा मुख्य सडक छिन्नभिन्न भएको छ। बैतडीदेखि चैनपुरसम्म ठाउँठाउँमा विजुलीका पोलहरु ढलेको विद्युत प्राधिकरण बझाङले बताएको छ’ उनले भने, ‘विद्युत अवरुद्ध हुँदा पुरै जिल्ला अन्धकारमय भएको छ।’
विद्युत प्राधिकरणले जिल्ला सदरमुकामहरुमा विद्युत सेवा सुचारु गर्न मर्मतको कार्य गरिरहेको छ। त्यसैले शुक्रबारसम्म अधिकांश जिल्ला सदरमुकाममा बिजुली बल्ने अपेक्षा गरिएको छ। तर ग्रामीण क्षेत्रमा भने अहिलेसम्म क्षतिको विवरण समेत संकलन नहुँदा विद्युत सेवा कहिलेबाट सुचारु हुने हो ? निश्चित छैन।
नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालय अत्तरिया प्रमुख जङ्गबहादुर चन्दले प्रदेशका सबै ठाउँमा अवरुद्ध भएको विद्युत नियमित गर्न केही समय लाग्ने बताए। ‘जिल्ला सदरमुकामहरुमा विद्युत सेवा सुचारु भएको छ’ उनले भने, ‘ग्रामीण क्षेत्रमा क्षति नै कति भएको छ त्यो विवरण नै आएको छैन। सबै ठाउँमा विद्युत पर्याउन केही समय लाग्छ।’
अविरल झरीको कारण पहाडी ७ जिल्ला जोड्ने सबै राजमार्ग अवरुद्ध हुँदा विद्युत प्राधिकरणले प्रसारण लाइन मर्मतमा समस्या भएको जनाएको छ। सुदूरपश्चिमको ३६ प्रतिशत जनसंख्या अझै विद्युुतको पहुँच बाहिर छ। राष्ट्रिय उत्पादनमा ५२ मेगावटको हाराहारीमा विद्युत उत्पादन भएको सुदूरपश्चिममा १८ हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन हुने सम्भावना रहेको छ।