हिउँदको हिलोमा, मुख्यमन्त्री हुईकिन्छन् चिल्लो गाडीमा
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को शहिद गेट क्याम्पस रोडमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको चिल्लो गाडी दैनिकजसो हुईकिएकै हुन्छ। उत्तरबेहडी नजिकै मुख्यमन्त्रीको निवास भएर पनि होला बढिजसो सोही सडकबाट मुख्यमन्त्रीले आवातजावत गर्छन्।
मुख्यमन्त्रीले चिल्लो गाडीमा सवारी भएर हुईकिने सोही सडकको शहिद गेट नजिकै नाली पुरिएर रोडमा हिलाम्मे भएको ६ महिना पुगेको छ। हिउँदको खडेरीमा पनि सडक हिलाम्मे भएपछि स्थानीयलाई आवातजावतमा सास्ती भएको छ।
स्थानीय व्यापारी दिपक प्रकाश जोशीले नालीमा बग्ने फोहोर सडकमा बग्न थालेपछि दुर्गन्ध फैलिएको बताए। उनले मुख्यमन्त्री त्रिलोचन भट्ट समेत सोही सडक भएर ओहोरदोहोर गर्दै आएको तर सडकको अवस्था नदेखेझै गर्ने गरेको आरोप लगाए।
स्थानीयले धनगढी उपमहानगरपालिकालाई नालीको ढल निकास गरिदिन पटक पटक आग्रह गरे तर उपमहानगरपालिकाले पनि वास्ता नगरेको बताएका छन्। सरोकारवाला निकायले नाली मर्मत सम्भारका लागि पहल नगरेपछि दुर्गन्ध सहेर बस्नुपरेको अर्की व्यापारी रिता चन्दले गुनासो गरिन्।
‘नालीको फोहोर बग्ने गरेका कारण वातवरण समेत दुर्गन्धित भएको छ।’उनले भनिन्। यता धनगढी उपमहानगरपालिकाले भने बन्द भएको नाली खोल्न प्रयास भइरहेको दावी गरेको छ। वडा नम्बर ४ का अध्यक्ष दिपक थापाले नाली खुलाउन आफूले पहल गरिरहेकाले छिट्टै ढल निकास गरिने दावी गरे।
शहिदगेट क्याम्पस रोड सडक शहरी विकास डिभिजन कार्यालयले कार्यान्वयन गरिरहेको सघन शहरी विकास कार्यक्रम अन्र्तगत छनौट भएका कारण उपमहानगरपालिकाले सडकको नाली मर्मत सम्भारमा चासो दिएको छैन्। जसका कारण स्थानीय बासिन्दाले हिउँदमा पनि बर्खायामको जस्तै हिललाम्मे सडकको यात्रा गर्नुपर्ने बाध्यता आएको छ।