यसकारण बग्यो कञ्चनपुरको ‘भाइरल रोड’, करोडौंको नोक्सानी
धनगढी: आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण महाकाली नदीमा बाढी आएपछि कञ्चनपुरको ‘भाइरल रोड’ले परिचित ६ लेनको पहुँच मार्ग भत्किँएको छ। तटबन्ध निर्माण नगरेर कालोपत्रे गर्दा भीमदत्त नगरपालिका १२ मा पर्ने साढे तीन सय मिटर सडक महाकालीले बगाएको निष्कर्ष निकालिएको छ।
महाकाली नदीमा बन्न लागेको ४ लेन पुल जोड्ने सडकको लम्बाइ ३ हजार ३ सय मिटर छ। महाकाली नदी किनारमा पर्ने साढे तीन सय मिटर सडक कालोपत्रे गरिएकोमा झण्डै ३ सय मिटर सडक बाढीले बगाएको महाकाली पुल योजना कार्यालयले जनाएको छ। सडक निर्माणसँगै नदीमा तटबन्ध गर्नुपर्ने भएपनि २ सय ६० किलोभन्दा ठूलो ढुङ्गाहरु पाउन नसकेको कारण तटबन्धको काम रोकिएको निर्माण कम्पनीले जनाएको छ। स्थानीय नागरिकको अवरोध तथा स्थानीय र प्रदेश सरकारको उदासिनताले गर्दा तटबन्ध गर्न ढुङ्गा नपाएको निर्माणको ठेक्का पाएको कुमार सिएफइसी जेभीका इन्जिनियर किशोर पाण्डेले दिनेशखबरलाई बताए। ‘तटबन्धका लागि आवश्यक ढुङ्गामध्ये ७० प्रतिशत ढुङ्गा २ सय ६० किलोभन्दामथिको हुनुपर्छ’, उनले भने, नदी किनारमा तटबन्ध नगरिएको कारण सडक बगेको हो।’
निर्माण कम्पनी तथा योजना कार्यालयले महाकाली पुल निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको जनाएका छन्। तर महाकाली नदी किनारमा पर्ने सडक खण्डमा गर्नुपर्ने तटबन्धका लागि आवश्य ढुङ्गाको जोहो बेदकोट र भीमदत्त नगरपालिकाको चुरे तथा भावर क्षेत्रका खोलाबाट गर्नुपर्ने भएपनि स्थानीयको अवरोधका कारण ढुङ्गा ल्याउन समस्या भएको बताइएको छ। तर भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले आफ्नो नगरपालिका क्षेत्रमा उपलब्ध भएको ढुङ्गा महाकाली पुल योजनालाई उठाउन दिएको दाबी गरेका छन्। ‘हाम्रो नगरपालिका क्षेत्रमा भएको ढुङ्गा उठाउन दिइएको हो’, उनले भने, ‘चुरे क्षेत्रबाट उठाउन त प्रदेश र संघीय सरकारको अनुमति चाहिन्छ। हामीले त सहजीकरण गरेका हौँ।’
महाकाली नदी किनारमा तटबन्ध निर्माण गर्न १ लाख ८१ हजार घनमिटर ढुङ्गा आवश्यक पर्ने बताइएको छ। तर निर्माण कम्पनीले अहिलेसम्म १५ हजार घनमिटर ढुङ्गा मात्रै उपलब्ध भएकोे जनाएको छ। नदी किनारमा तटबन्ध गर्न ठूलो ढुङ्गा चाहिने भएपनि त्यसका लागि तीनै तहको सरकारकाबीच आपसी समन्वय नभएको तथा स्थानीयको समेत अवरोध हुँदा तटबन्ध गर्न नसकिएको योजना कार्यालयका सूचना सहायक दुर्गादत्त अवस्थीको भनाई छ। ‘महाकाली नदी किनारमा ठूला ढुङ्गा छैनन्। २ सय ६० किलोभन्दा ठूला ढुङ्गा चुरेबाट ल्याउनु पर्छ’, उनले भने, ‘चुरेबाट १५ हजार घनमिटर मात्रै उठाउन दिइयो, जसको कारण निर्माण कार्य नै प्रभावित भएको छ।’
महाकाली पुल योजनाका लागि आवश्यक पर्ने ठूलो ढुङ्गाहरु बेदकोट र भीमदत्त नगारपालिका क्षेत्रबाट ल्याउनुपर्ने बाध्यता रहेको बताइएको छ। तर सामुदायिक वनले नै ढुङ्गा लैजान रोक लगाएको बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले बताए। ‘ढुङ्गा लैजान सामुदायिक वनले नै रोक लगाएकोले हामीले पनि जवरजस्ती दिनुपर्छ भनेर भनेनौँ’, उनले भने, ‘योजना कार्यालयले तोकेको आकारको ढुङ्गा बेदकोट नगरपालिकामा छैन। उत्खनन् गर्न त वन डिभिजन, प्रदेश सरकार तथा संघ सरकारले अनुमति दिनुपर्याे।’
महाकाली नदीको ४ लेन पुल तथा त्यो पुल जोड्ने ३ हजार ३ सय मिटर सडक निर्माण कार्य ३ अर्व ६६ करोडको लागतमा हुन लागेको हो। तर महाकाली नदीमा ९० वर्षयताकै सबैभन्दा ठूलो बाढीका कारण योजनामा क्षति भएको छ। क्षतिको विवरण तयार गर्न केही समय लाग्ने बताइएको छ।