९ महिनासम्म सेती अञ्चल अस्पतालको लिफ्ट मर्मत भएन्
विरामीलाई पिठ्युमै बोक्नुपर्ने वाध्यता
सेती अञ्चल अस्पतालले नौ महिनादेखि विग्रिएको लिफ्ट मर्मत नगर्दा गम्भीर प्रकृतिका विरामीलाई पिठ्युमै बोकेर उपचार कक्षसम्म पुर्याउनुपर्ने बाध्यता कायमै रहेको छ। झण्डै पाँच लाख खर्च गरेर सञ्चालनमा ल्याइएको लिफ्ट मर्मतमा अस्पतालले चासो नदिदा असहाय र गम्भीर प्रकृतिका विरामीलाई समस्या हुने गरेको छ। अस्पतालको पहिलो तलासम्म रयाम्प मार्फत विरामीलाई ओसार्न सकिने भएपनि दोस्रो र तेस्रो तलामा ¥याम्पको व्यवस्था समेत नहुदा झनै समस्या खेप्नुपरिरहेको विरामीका आफन्तले गुनासो गरेका छन्। लिफ्ट नहुँदा सबैभन्दा बढी मर्कामा डायलासिस गर्नुपर्ने विरामी परेका छन्। अस्पतालको तेस्रो तलामा डायलासिस सेवा भएकाले उपचारका लागि सिढी चढ्न नसक्ने विरामीलाई पिठ्युमा बोकेर पु¥याउनुपर्ने बाध्यता छ। कञ्चनपुरको वेदकोट नगरपालिकाबाट श्रीमतीको डायलासिसका हप्तामा दुई दिन अस्पताल आउने गरेको बताउदै विर सिह जाग्रीले लिफ्ट नहुदा पिठ्युमै बोकेर उपचार कक्ष सम्म पु¥याउनुपर्ने बाध्यता रहेको बताए। डायलासिस गराउनुपर्ने विरामीहरुले अवस्था अनुसार हप्तामा दुई तीन पटक समेत अनिवार्य रुपमा डायलासिसका लागि अस्पताल आउनुपर्ने हुन्छ।
अस्पतालको पहिलो तला सम्म रयाम्प भएकाले स्टेचर र हुईल चियर मार्फत पुर्याउने गरिएपनि दोस्रो र तेस्रो तलामा डायलासिस मेसिन र आईसियु कक्ष भएकाले गम्भीर प्रकृतिका विरामी र अशक्तलाई समस्या भइरहेको छ। लिफ्ट विग्रिएको लामो समयसम्म अस्पतालले मर्मत गर्न ध्यान नदिएको आरोप लागेको छ। गत बैशाखमा डडेल्धुराबाट बुबाको उपचारका लागि आएका भरत बोगटीले त्यती बेला पनि लिफ्ट विग्रिएकै अवस्थामा रहेको बताए। ‘अस्पताल प्रशासनका लापरवाहीले नौँ महिना सम्म मर्मत भएको छैन,’उनले भने, ‘दम रोगबाट शक्त पीडित ९० वर्षिय बुबालाई बोकेरै तेस्रो तला सम्म पुर्याए।’ अस्पतालले असहाय र गम्भीर प्रकृतिका विरामीको सहजताका लागि भन्दै ६ वर्ष पहिले सञ्चालनमा ल्याएको लिफ्ट नौ महिनाअघि विग्रिएर काम नलाग्ने अवस्थामा पुगेको हो।
यसअघि पनि तीन पटक विग्रिएको लिफ्टका विग्रिएका उपकरणहरु नेपालमा नपाईने भएकाले मर्मतमा ढिलाई भएको बताइएको छ। चीनबाट आवश्यक उपकरण मगाईएकाले छिट्टै मर्मत गरिने तर लिफ्टको विकल्प खोज्नुपर्ने आवश्यकता रहेको सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले बताए। उनले तेस्रो तला सम्म नै ¥याम्पको व्यवस्था अनिवार्य गर्नुपर्ने आवश्यकता महसुस भएको जनाए। सुदूरपश्चिम प्रदेशका २८ लाख जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने सेती अञ्चल अस्पताल प्रशासनको लापरवाही र उदासिनता बढ्दै गएपछि स्तरीय र छिटोछरितो उपचार सेवा पाउने आशा घट्दै गएको छ भने टाढा टाढाबाट उपचारका लागि अस्पतालमा पुग्ने विरामी र तीनका करुवाले सधै सास्ती खेप्न’पर्ने बाध्यता छ । अर्कोतीर सेती अञ्चल अस्पताल सुदूरपश्चिम प्रदेश सरकार मातहत आइसकेपछि मुख्यमन्त्री र मन्त्रीहरुले चर्चा बटुल्न अनुगमन गर्ने गरेपनि अस्पताल सुधार गर्नतर्फ ध्यान नै दिएका छैनन् भने अस्पताल स्तरोन्तीको चुनावी नारा लगाएका नेताहरु पनि गुमनाम भएका छन्।