सुदूर नेपाललाई विश्वसँग जोड्दै

साफ च्याम्पियनसिपको फाइनल: पहिलो हाफसम्म गोलरहित बराबरी

२०७८ असोज ३०, १०:२९ रासस

साफ च्याम्पियनसिपको इतिहासमै पहिलो पटक फाइनलमा पुगेको नेपालले उपाधिको लागि अहिले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ।  माल्दिभ्सको मालेस्थित राष्ट्रिय स्टेडियममा भइरहेको साफको १३ औँ संस्करणको फाइनल खेलमा नेपाल र भारतवीचको खेल पहिलो हाफसम्म गोलरहित बराबरीमा सकिएको हो। दुवै टोलीले खेलको विभिन्न समयमा गोलको अवसर सिर्जना गरेपनि गोल भने गर्न सकेनन्। 

वर्षाका कारण खेलाडीलाई बल नियन्त्रणमा कठिनाई भएको देखिएको थियो तर भारतले तुलानात्मक रुपमा बढी आक्रमण गरेको थियो। खेलको चौथो मिनेटमा नै कप्तान किरण चेम्जोङले दोहोरो बचाउ गर्दै खेल गोलरहित राखे। यासिर मोहमदको पेनाल्टी क्षेत्र बाहिरको प्रहारलाई पहिलो पटकमा विफल पारेका किरणले रिबाउन्डमा अनिरुद्ध थापाको वन भर्सेस वनको प्रहारलाई उत्कृष्ट ढंगले बचाए। त्यसपछि लगत्तै अर्कोतर्फ नेपालको काउन्टरमा नवयुग श्रेष्ठको अन्तिम प्रहार आकासियो। खेलको १४ औँ मिनेटमा भारतको लगातार आक्रमणलाई नेपाली डिफेन्सले गोल हुन दिएन। लगातारको तीन प्रहार डिफेन्सले छेकेपछि अन्तिम प्रहार भने गोलरक्षक किरणको हातमा टुंगिएको थियो। त्यस्तै खेलको १७ औँ मिनेटमा रोहित चन्दले पेनाल्टी क्षेत्रभित्र डिफेन्डर चिप्लेपछि सुवर्ण अवसर पाएपनि दुर्भाग्यवश उनी पनि चिप्लिन पुग्दा अन्तिम प्रहार गर्न सकेनन्।

२७ औं मिनेटमा सुनिल क्षेत्रीले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहारलाई किरणले बचाए। ४३ औं मिनेटमा लालेङमावियाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन। ४४ औं मिनेटमा यासिरको क्रसमा सुनिलको भली प्रहार पोस्टभन्दा माथिबाट जाँदा खेल बराबरीमा रहेको थियो। नेपालले साफमा खेलेको चार खेलमध्ये २ खेलमा जित हात पारेको छ भने एक खेल बराबरीमा रोकिएको थियो । यसअघि भएको खेलमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित भएको थियो।

नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै नेपाल फाइनल प्रवेश गरेको थियो । उता भारत भने २ खेलमा बराबरी र २ खेलमा जित निकाल्दै फाइनल प्रवेश गरेको हो। 
 

कमेन्ट लोड गर्नुस