बसपार्क जस्तै बन्यो धनगढीको ६ लेन, ट्राफिक प्रहरी रमिते
धनगढीः धनगढी उप–महानगरपालिकाको वडा नम्बर ३ चटकपुरमा रहेको नेपाल आयल निगमको प्रादेशिक डिपो अगाडि ट्याङ्कर पार्किङ हुनु नौलो विषय होइन। विगत लामो समयदेखि उक्त क्षेत्रमा तीन दर्जन भन्दा बढी ट्याङकर दैनिक पार्किङ गरी राखिएका हुन्छन्। सोही ट्याङ्करको आडमा ६ लेन सडकमै अन्य गाडीहरु समेत पार्किङ हुँदै आएका छन्। लहरै हुने पार्किङले गर्दा ६ लेन सडकमा समेत जाम हुने गरेको छ। आइतबार दिउँसो साढे एक बजे आयल निगमको डिपो भित्र ट्याङ्कर हाल्न खोज्दा १५ मिनेट भन्दा बढी जाम भएको थियो। आसपासमा अन्य सवारीसमेत पार्किङ गरिएका कारण उक्त क्षेत्रमा जाम भएको हो।
अन्य स्थानमा समेत दैनिक जसो सवारी जाम हुँदा पनि सरोकारवाला निकाय मौन रहेको चटकपुरका स्थानीय हरिप्रसाद भट्टले बताए। ‘यस्तो व्यस्त ६ लेन सडकलाई गाडी छुट्ने बसपार्क बनाइएको छ। अब बसपार्कको केही अर्थ नै भएन’ उनले भने। धनगढी चौराह क्षेत्रमा जुन समयमा पुग्दा पनि एक दर्जन बढी ठूला सवारी साधन सहजै देख्न सकिन्छ। बसपार्कबाट विभिन्न ठाउँका लागि छुट्नु पर्ने गाडीहरु चौराहमा भेटिन्छन्। बस, विङ्गर, म्याजिक लगायतका गाडी सडकमै पार्किङ हुँदा आवातजावत गर्न मुस्किल भइरहेको छ। त्यसमाथि अव्यवस्थित रुपमा चल्ने अटोरिक्साका कारण दुर्घटनाको जोखिम पनि उत्तिकै छ।
चौराहा र ६ लेन सडक आसपासका स्थानीयले सरोकारवाला निकायलाई पटकपटक आग्रह गर्दा पनि पार्किङ हटाउन चासो दिइएको छैन। जसकाकारण विषेशगरी पार्किङ व्यवस्थापनको जिम्मेवारी लिएको ट्राफिक प्रहरीको नेतृत्वमाथि प्रश्न खडा भएको धनगढी चौराहका स्थानीय राजु प्रसाईले बताए। ‘यस्तो व्यवस्था छ, अनि नेतृत्वले जिम्मेवारी नलिए को ले लिन्छ ?’ उनले भने, ‘अहिलेको ट्राफिकले काम गर्न सकेको छैन। अब जनताले आन्दोलन गर्नुपर्ने, ढुङ्गा–मुडा प्रहार गर्नुपर्ने अवस्था आएको छ।’
मोहनापुल–अत्तिरिया ६ लेन सडक खण्डको धनगढी विद्युत प्राधिकरण कार्यालय अगाडिदेखि राजपुरसम्म बाक्लो रुपमा गाडी पार्किङ गरी राखिएका हुन्छन्। सार्वजनिक सवारी साधनसँगै निजी गाडी, मोटरसाइकल पार्किङ मात्रै नभएर कतिपयले ६ लेन सडकमै गाडी मर्मतसमेत गर्ने गरेका छन्। उक्त अव्यवस्थित रुपमा हुने पार्किङ हटाउन लागि ट्राफिक प्रहरी असफल भएको छ। सवारी धनीलाई जरिमाना तिर्न लगाउने बाहेक अन्य कुनै पहल हुन सकेको छैन।
पार्किङकै कारण गर्दा यात्रुको ज्यान जानेसम्मका घटना हुँदा पनि ट्राफिक प्रहरीको आँखा खुल्न सकेको छैन। तर जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराले भने, सडकमा पार्किङ गर्नेहरु जरिमाना तिर्न तयार हुने गरेको बताए। ‘त्यहाँ दैनिक ८ देखि १० हजारसम्म राजश्व उठिरहेको छ। ३० देखि ४० वटा गाडीहरु कारबाहीमा पर्ने गरेका छन्। बरु जरिमाना तिर्छन् तर भनेको मान्दैनन्। २४ घण्टा त्यहा खट्न सक्ने अवस्था हाम्रो पनि छैन’ उनले भने।
सडकमै हुने पार्किङ व्यवस्थापन गर्न ट्राफिक प्रहरीसँगै जिल्ला प्रशासन कार्यालय र धनगढी उपमहानगरपालिकाको पनि प्रमुख जिम्मेवारी हो। तर नियमविपरीत सडकमै सवारी रोक्ने चालक र यातायात व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकाय उदासिन छन्।