प्रदेशस्तरीय भलिबल प्रतियोगिताः डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर सेमिफाइनलमा
धनगढी: धनगढीमा जारी प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ। प्रतियोगिताअन्तरगत आज ४ वटा खेल सम्पन्न भएसँगै सेमिफाइनल समीकरण पुरा भएको हो।
समूह ‘क’ बाट डोटी विजेता र कञ्चनपुर उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन्। डोटीले समूहको आफ्नो अन्तिम खेलमा कञ्चनपुरलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेता बनेको हो। आजै सम्पन्न अन्तिम खेलमा डोटीसँग पराजित भएको कञ्चनपुरले बैतडीलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थापन बनाउन सफल भएको छ।
समूह ‘ख’ बाट डडेल्धुरा विजेता र कैलाली उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन्। आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा दार्चुलालाई ३–० को सोझो सेटमा पराजित गर्दै डडेल्धुरा समूह विजेता बनेको हो। कैलालीले पनि बाजुरालाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। प्रतियोगिता अन्तरगत भोलि सेमिफाइनलका खेल र फाइनल हुनेछ। सुदूरपश्चिम खेलकुद परिषद्को वार्षिक कार्यक्रम अनुसार जारी प्रतियोगितामा प्रदेशका ९ वटै जिल्लाका टिमहरूले सहभागिता रहेको थियो।
प्रतियोगिताको विजेतालाई नगद १ लाख सहित ट्रफी दिइने सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले जानकारी दिए। उनका अनुसार प्रतियोगिताको उपविजेतालाई नगद ५० हजार सहित ट्रफी दिइने छ। प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टिमलाई २५/२५ हजार नगद सहित ट्रफी दिइनेछ भने विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइनेछ।