सुदूरपश्चिममा विकास निर्माणका योजनाहरु कार्यान्वयनमा ढिलाई
नयाँ योजना टेण्डरमै गएनन्, पुरानाको भुक्तानी नै पाईएन्
तीन तहका सरकार बिच उचित समन्वय नहुँदा विकास निर्माणका सयौ आयोजनाहरु कार्यान्वयनमा ढिलाई भएको छ । नयाँ आयोजनाहरु टेण्डरमै नगएका वेला निर्माण सम्पन्न गरिएका आयोजनाहरुको भुक्तानी पाउन अन्यौलता देखिएको छ । विभिन्न विकास निर्माणका कामहरु कुन निकायले कार्यान्वयन गर्ने भन्ने कुरा पक्का नभएका कारण समस्या सिर्जना भएको हो । सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच उचित समन्वय नहुँदा विकास निर्माणका कामहरु प्रभावित भएका हुन् । नयाँ आर्थिक बर्षको चार महिना वितिसक्दा पनि सयौ आयोजनाहरु कार्यान्वयन हुन नसकेका हुन् । नयाँ संरचना अनुसार कर्मचारी तथा कार्यालयहरु व्यवस्थापन गर्न नसकेकै कारण अर्वौका आयोजनाहरु अहिलेसम्म सञ्चालन गर्नका लागि प्रक्रियामा समेत जान नपाएको सुदुरपश्चिम प्रादेशिक निर्माण व्यवसायी संघका अध्यक्ष मदन कुँवरले बताए ।
विभिन्न तहका सरकारबीच समन्वय नहुँदा सङ्घीय सरकारले सम्झौता गरी सञ्चालनमा रहेका विभिन्न सडक, भवन, पुल लगायतका परियोजनाको भुक्तानीमा अन्योल देखिएको निर्माण व्यवसायीहरु बताउँछन् । पछिल्लो समय भुक्तानीको समयमा सङ्घीय सरकारले प्रदेश तथा प्रदेश सरकारले सङ्घीय सरकारलाई देखाउँदा अलमलको अवस्था सिर्जना भएको निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष प्रकाश सेठ्ठीले जानकारी दिए । निर्माण कामहरु सम्पन्न भएर भुक्तानी पाउन नसकेका कारण निर्माणको चरणमा गएका आयोजनाहरुको काम पनि नगर्ने मनसायमा निर्माण व्यवसायी पुगेका छन् भने सयौ आयोजनाहरु टेण्डरको प्रक्रियामा समेत जान सकेका छैनन् । यसले ठुलो विकास बजेट फ्रिज जाने सम्भावना रहेको प्रादेशिक अध्यक्ष कुँवरको भनाई छ ।
संघीय संरचना अन्तर्गत कतिपय कार्यालय स्थापना अहिले भएका छन भने कतिपय स्थापना हुन नै वाँकी रहेका छन् । कार्यालयहरु नभएकै वेला कर्मचारी पनि व्यवस्थापन हुन नसकेका कारण प्रदेश सरकारको विकास बजेट खर्च नै हुन सकेको छैन् । स्वयम सरकारी अधिकारीहरु पनि विकास निर्माणका काम अगाडी वढाउन ढिलाई भएको स्वीकार गर्दै अव कार्यान्वयनको चरणमा जाने जनाएका छन् । प्रदेश सरकारका आयोजनाहरु कार्यान्वयन गर्नका लागि स्थापना भएको शहरी विकास तथा भवन कार्यालयका प्रमुख महेश सिंहले आयोजना अव कार्यान्यनको चरणमा जान लागेको बताए ।