सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ कांग्रेसका निर्वाचन अधिकृत भन्छन्ः मलाई अपहरण गरियो, भागेको होइन

फोटोः निर्वाचन अधिकृत चेतराज भट्टको फेसबुकबाट
फोटोः निर्वाचन अधिकृत चेतराज भट्टको फेसबुकबाट
२०७८ असोज १८, १२:०८ खबर संवाददाता

धनगढीः नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बझाङमा खटिएका निर्वाचन अधिकृतले आफूलाई अपहरण गरेको जनाएका छन्। महाधिवेशनका लागि खटिएका निर्वाचन अधिकृत चेतराज भट्टले सामाजिक सञ्जालमार्फत यस्तो जनाएका हुन्। आफूलाई अपहरण गरेर निर्वाचन रोकिएको भट्टले स्पष्ट पारेका छन्।

मतदाता नामावली प्रकाशनपछि निर्वाचन नगराइ भट्ट सम्पर्कविहीन भएको बताइएको थियो। आफू सम्पर्कविहीन नभएको भन्दै भट्टले मतदानस्थल खोज्न जाने क्रममा अपहरण गरिएको बताए। ‘म भागेको होइन। निर्वाचनको अन्तिम नामावली प्रकाशन हुँदासम्म मतदानस्थलको टुंगो थिएन। म आफैं मतदानस्थल खोज्न गएको छु। राति एघार बजे मलाई अपहरण गरियो, मोबाइल खोसियो र भनेबमोजिम नगरे मार्ने धम्की दिइयो’, भट्टले सामाजिक सञ्जालमार्फत भनेका छन्।

उनले निर्वाचन बिथोल्ने षड्यन्त्रका मतियारहरूले आफूलाई अमानवीय व्यवहार गरेर असफल बनाएको दावी गरेका छन्। त्यस्तै उम्मेदवारी दर्ता वापत्को शुल्क आफुसंग नरहेको पनि भट्टले स्पष्ट पारेका छन्। ‘मैले एक रूपैयाँ पनि लिएको छैन। तपाईंहरूले पैसाको खटनपटन र जिम्मा दिएका व्यक्तिहरू तपाईकै जिल्लाका र तपाईहरूसँगै छन्। उहाँहरूसँग हिसाब माग्नुहोला’, भट्टले भनेका छन्। उनले आफूलाई मिथ्या आरोप लगाइएकोमा खण्डन गर्दै मतदाता नामावली प्रकाशनको प्रक्रियासम्म सहयोग गर्नेलाई धन्यवाद ज्ञापनसमेत गरेका छन्।

कमेन्ट लोड गर्नुस