सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसका तीन नेता देउवाको गृहजिल्ला पुगेपछि अनशन स्थगित

२०७८ असोज १७, ०३:०९ खबर संवाददाता

धनगढीः डडेल्धुरामा नेपाली कांग्रेसको विगत ११ देखि जारी रहेको रिले अनशन स्थगित गरिएको छ। आइतबार पार्टी सभापति समेत रहेका शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा जारी अनशन स्थगित गरिएको हो।

कांग्रेसका ३ शिर्ष नेता तथा केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा शेखर कोइराला र गुरुराज घिमिरे डडेल्धुरा पुगेपछि अनशन स्थगित गरिएको पार्टीका जिल्ला उपसभापति करुणाकर करुणाकर भट्टले जानकारी दिए। शिर्ष नेताहरुले माग सम्बोधन गर्नका लागि पहल गर्ने जनाएपछि तत्काललाई अनशन स्थगित गरिएको उनले बताए। पार्टी कार्यालय किशुनजी भवनमा ११ दिनदेखि कार्यकर्ताहरू अनशनमा बसिरहेका थिए। क्रियाशील सदस्यता विवाद कायमै रहेको अवस्थामा गत भदौ २५ गते सम्पन्न भएको वडा अधिवेशन खारेजको माग गर्दै उनीहरूले रिले अनशन थालेका थिए।

हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, कथित अवैधानिक वडा अधिवेशन बदर गर्नुपर्ने र वैधानिक रूपमा वडा अधिवेशनको मिति तय गर्नुपर्नेलगायतका मागहरू अनशनरत कार्यकर्ताले राखेका थिए। क्रियाशील सदस्यता विवाद कायमै रहेको र गत भदौ २५ गते सम्पन्न भएको वडा अधिवेशन अवैधानिक भएको ठहर गर्दै जिल्ला सभापति मल्ल पक्षले विरोध गर्दै आइरहेको छ।

डडेल्धुरा कांग्रेसमा जिल्ला सभापति मल्ल र केन्द्रीय सभापति देउवाको गुट छ। जिल्ला कार्यसमितिले क्रियाशील सदस्यका लागि पाँच हजार आठ सय चार जनाको नामावली पठाएकोमा छानबिन समितिले चार सय ४४ जनाको नाम हटाइदिएको मल्ल पक्षको भनाइ छ।
 

कमेन्ट लोड गर्नुस