भारतमै लुटिन थाले त्रिनगर नाका भएर स्वदेश फर्किने नेपाली
धनगढीः अछामको मेल्लेख गाउँपालिका वडा नम्बर १ का ३१ वर्षीय सुरज धामी धनगढी बसपार्कमा रोइरहेका भेटिए। एक वर्ष पुरै भारतको हिमाञ्चल प्रदेशको सिमलामा मजदुरी गरेर घर फर्किदा नेपालीबाटै लुटिएको गुनासो गर्दै थिए उनी। स्वदेश फर्किदा धामीसहित ९ जनाको समूह लुटिएको हो। सिमलामा उनीहरुलाई लुट्ने भारतीय नभएर नेपाली नै थिए। एचपी रोयल पशुपति एण्ड ट्राभल्सका सञ्चालकले १ हजार ५ सय भाडा लाग्ने भए पनि २ हजार ५ सय भारतीय रुपैयाँ असुलेर ९ सिटको भाडा लिएको तर ७ सिट मात्रै उपलब्ध गराएको उनीहरुको गुनासो छ। एक दिनको बाटोमा ३ दिन लगाएर पलियाभन्दा १४ किलोमिटर अगाडि नै झारेर आफूहरुलाई बाटोमा अलपत्र पारेको धामीले बताए।
‘सिमलाको गुम्माबाट सानो गाडीमा एक दिनमै गौरीफन्टा पुगाउने भनेर हामीलाई गाडीमा बसालियो तर केही समयको यात्रापछि सय जना अट्ने गाडीमा बस्न लगायो,’ उनले भने, ‘गाडीमा कोचाकोच मान्छे हालेर ल्यायो। पलिया नपुग्दै झर्न भन्यो तर मेरो बाकस र झोला भने गायब पारियो।’
सानो गाडीमा छिटो र सजिलै धनगढीसम्म पुगाउने भनेर टिकट काट्न बाध्य बनाएका एचपी रोयल पशुपति एण्ड ट्राभल्सका प्रतिनिधि हेमराज खत्री र रामजी मगरले सुरज धामी, जगत धामी र धनबहादुर धामीलाई मात्रै ठगेनन्। उनीहरुले बसमा सवार सय बढी जनाबाट २ हजार ५ सय भारतीय रुपैयाँ भाडा लिए। ३ दिन लगाएर धनगढी पुग्दासम्म ९ जनाको झण्डै १ लाख ५० हजार खर्च भएको जगत धामीले बताए।
‘हामीलाई कोचेर ल्याइयो। बाटोमा रोक्दै रोक्दै ल्याइयो,’ उनले भने, ‘सय रुपैयाँमा खाना पाउने ठाउँमा गाडी नरोकेर ४ सय पर्ने ठाउँमा रोकेर पैसा लुट्ने काम गरियो। हामी ९ जनाको धनगढी पुग्दासम्म १ लाख ५० हजारभन्दा बढी खर्च भएको छ।’
गाडी नम्बर पीबी ११ सीएक्स ८४४२ मा आएका सुरज धामीको डिग्गीमा ताल्चा लगाएर राखिएको आफ्नो बाकससहितको झिटीगुण्टा चोरी भयो। गाडीबाट चार तोलाको चादीको बाला र ५१ हजार बराबरको अन्य सामान गुमाउनु परेको उनले दुखेसो पोखे। नेपालीहरुको भनेको मान्दा दुःख पाएको र लुटिएको धामीको गुनासो छ।
पश्चिमी नाका त्रिनगर—गौरीफन्टा भएर स्वदेश फर्किने नेपाली भारतमै लुटिन थालेका हुन्। सीमा क्षेत्रमा विगतदेखि नै भारतीय भन्सारकर्मी, प्रहरी र रिक्सा चालकले असुली धन्दा चलाएको गुनासो गरिएकोमा अहिले भारतमै लुटिने क्रम बढेको हो। ट्राभल्स कम्पनीका नेपाली प्रतिनिधिले नै कमाउ धन्दा चलाएको गुनासो स्वदेश फर्किने नेपालीको छ। भारतका विभिन्न सहरबाट स्वदेश फर्किदा गाडी चढ्दादेखि लुटिने क्रम सुरु हुने गरेको नेपालीहरुले बताउने गरेका छन्।
छिटो र सजिलै नेपालसम्म पुऱ्याउने भन्दै टूर एण्ड ट्राभल्स कम्पनी चलाइरहेका व्यक्तिले चर्को भाडा लिने, एउटा गाडी भनेर अर्कैमा पठाउने, बाटोमा सामान तथा पैसा लुट्ने र आधा बाटोमै छाड्ने गरेको गुनासो सुन्नमा आए पनि ठोस प्रमाणका साथ उजुरी गर्न कोही नआएको स्थानीय प्रशासनले जनाएको छ। प्रमाणसहित पीडित आएमा सम्बन्धित पीडकलाई ठगी लगायत कसुरमा सजाय गर्न सकिने कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जनाए।