सुदूरपश्चिममा शनिबार एक जनाको मृत्यु, २१ जनामा कोरोना पुष्टि
धनगढीः सुदूरपश्चिममा शनिबार एक जना पुरूषको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा अछामका २८ वर्षीय पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। उनको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।
प्रदेशभर पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १ हजार ४४ जनाको परीक्षण गर्दा थप २१ जनामा कोरोना पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा १ सय ८७ जनाको पीसीआर परीक्षण गर्दा २१ जना संक्रमित पाइएका छन्। त्यसेतै ८ सय ५७ जनाको नमूना एन्टिजेन विधिबाट परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको निर्देशनालयले जनाएको छ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ७७ जनाको कोरोना परीक्षण भएकोमा १८ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै डडेल्धुरा अस्पतालमा १० जनाको परीक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएको हो।
सुदूरपश्चिममा हालसम्म पीसीआर र एन्टिजेन विधिबाट गरि ३ लाख ४२ हजार ४ सय ७२ जनाको नमूना परीक्षण भएकोमा ४७ हजार ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने, ५ सय ९२ जनाले ज्यान गुमाएसकेको छन्।