सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको फूलवारी बहुमुखी क्याम्पसको अवस्था सुधार्न एक घर एक सदस्य अभियान

२०७८ असोज ७, ११:४२ नारायण अवस्थी

धनगढी: आर्थिक अभावले संकटमा रहेको धनगढीको फूलवारी बहुमुखी क्याम्पसको अवस्था सुधार्न स्थानीय अग्रसर भएका छन्। २०६६ सालमा समुदायको पहलमा स्थापना भएको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको फूलवारी बहुमुखी क्याम्पसको अवस्था सुधार्न स्थानीय अग्रसर भएका हुन्। 

क्याम्पस व्यवस्थापनले स्थानीयसँग सहयोग माग्न घरदैलोमै पुगेर अन्तक्रिया र छलफल गर्न थालेको छ। एक घर एक सदस्य भन्ने अभियान सञ्चालन गरेर धनगढीका ३ तथा कैलारीका ३ वडामा क्याम्पस सहयोग समिति गठन गरिएको छ। 
फूलवारीबाट क्याम्पस पढ्न धनगढी पुग्नुपर्ने बाध्यता रहेकोले २०६६ सालमा वडा नम्बर १४ मा स्थानीय समाजसेवी, राजनीतिक दल तथा बुद्धिजिविको पहलमा फूलवारी बहुमुखी क्याम्पस स्थापना गरियो।

गाउँमै महायज्ञ लगाएर नगद र जिन्सी ८० लाख चन्दा संकलन भएर स्थापना गरिएको क्याम्पस अहिले भने आर्थिक कारणले समस्यामा रहेको स्थानीय टुन्नी चौधरीले बताइन्। ‘गाउँमै छोराछोरी पढाउदा कम खर्च लाग्ने ठानेर क्याम्पस खोलिएको हो। तर अहिले आर्थिक कारणले समस्या छ।’ उनले भनिन्, क्याम्पसको अवस्था सुधार भए हामीलाई छोराछारी पढाउन समस्या हुने थिएन।’

कक्षा १२ पास भएपछि स्नातक तहको पढाइ गर्न धनगढी जानुपर्ने बाध्यता हटाउन फूलवारीमै क्याम्पस खोलिएको थियो। तर विद्यार्थीसंख्या न्यून हुँदा १८ जना अध्यापक तथा कर्मचारीको तलब पुगाउनै मुस्किल हुन थालेको छ। अब भने शिक्षा तथा वाणिज्य संकायको पढाइ हुने क्याम्पसमा स्थानीयको अपनत्व होस् भनेर हरेक परिवारबाट एक जना सदस्य हुनुपर्ने प्रस्ताव सहित ३ प्रकारका सदस्यता वितरणको योजना बनाइएको छ।

हरेक वडामा क्याम्पस सहयोग समिति गठन गरेर टोल टोलमा फूलवारी क्याम्पस भन्ने नाराका साथ क्याम्पसको अवस्था सुधार गर्ने अभियान थालिएको क्याम्पस प्रमुख यामबहादुर पौडेलको भनाई छ। ‘अहिले हाम्रो मात्रै होइन देशभरका सामुदायिक क्याम्पस आर्थिक कारणले समस्यामा छन्।’ उनले भने, ‘ सबै टोलमा पुगेर सहयोगको पहल गरिरहेका छौँ। स्थानीयको उत्साहले सकारात्मक ऊर्जा पाएका छौँ।’ 

वर्तमान क्याम्पस व्यवस्थापन समितिले क्याम्पसको समग्र विकासका लागि १० वर्षे मार्गचित्र बनाउन लागिएको जनाएको छ। क्याम्पसलाई अहिलेको अवस्थाबाट माथि उकास्न कैलारी तथा धनगढीको फूलवारी क्षेत्रका स्थानीयले सकारात्मक भएर उर्जा प्रदान गरेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार बस्नेतले दाबी गरे।

‘हामी क्याम्पसको अवस्था सुधार गर्न दस वर्षे योजना बनाइ रहेका छौँ। अहिले स्थानीय सबैसँग क्याम्पससँग जोडिन अनुरोध गरिरहेका छौँ।’ उनले भने, ‘सबै खाले सहयोग गर्न स्थानीय सकारात्मक छन्।’ फूलवारी बहुमुखी क्याम्पसलाई आर्थिक तथा शैक्षिक रुपले बलियो बनाउन सबै क्षेत्रबाट आवश्यक सहयोग हुनुपर्ने स्थानीयको भनाइ छ। 


 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस