पदयात्रा खुलाउन पर्यटन व्यवसायीको माग
काठमाण्डौ – नेपालको पर्यटनको ठूलो हिस्सा ट्रेकिङ पर्यटनको रहेको छ। विश्वमा चर्चित पदमार्गहरूले समग्र पर्यटन क्षेत्रलाई नै चलायमान बनाएको छ।
खुम्बु, मनास्लु, अन्नपूर्ण, मनाङ, मुस्ताङका ट्रेकिङ रुटमा विदेशीसँगै आन्तरिक पर्यटकको पनि चासो बढिरहेको छ । नेपालमा कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएको छ। यसले तत्काल ठूलो समूह बनाएर घुम्ने, घुमाउने अवसर नदिए पनि पदयात्राको पर्यटनलाई खुला गर्नुपर्छ भन्ने आवाज उठ्न थालेको छ।
नेपालबाहिर धेरै देशले आफ्ना नागरिकलाई खोपको पूरा मात्रा लगाइसकेको छ। यस्तोमा पदयात्रामा जान चाहने विदेशी पर्यटकले ७२ घण्टाको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट पनि लिएर आउने भएकाले क्वरेण्टीन बस्नुनपर्ने व्यवस्था गरेर पदमार्गमा जाने पर्यटकलाई खुकुलो बनाउन व्यवसायीले सरकारसँग आग्रह गरेका छन्।
यस्तै ट्रेकिङ एजेन्सीको छाता संस्था (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले अन अराइभल भिसा खुला गर्ने र क्वरेण्टीन बस्ने नियमलाई हटाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकिने बताए। एक जना पर्यटक पदयात्रामा जाँदा कम्तीमा २० जनाले रोजगारी पाउने र अर्थोपार्जन हुने अनुमान गरिन्छ। साहसिक पर्यटन, हिमाल आरोहण, पदयात्रालाई मात्र पनि खोल्न सके पर्यटन सिजनसँगै चलायमान बनाउन सकिने बताए।
डेढ दशकदेखि सकारात्मक लयमा रहेको नेपालको पर्यटन व्यवसाय कोरोनाको कारण नराम्रोसँग थलिएको छ। तर सङ्क्रमणको जोखिम कम भएका देशबाट नेपालबारे चासो बढ्न थालेको ट्राभल व्यवसायीले बताएका छन्।
नेपालमा कोरोना सङ्क्रमणको दर घटेको समाचार आउन थालेपछि चासो बढेको पनि व्यवसायीले बताएका छन्। सरकारले भिसा र क्वरेण्टीनको विषयमा समयमा नै निर्णय नलिए व्यवसायी उठ्नै नसक्ने गरी थलिने व्यवसायीहरूले बताएका छन्।
कोरोना सश्र्क्रमणको जोखिम बढ्नुअघि नेपालले भ्रमण वर्ष मनाउने तयारी गरिरहेको थियो। सन् २०२० मा २० लाख पर्यटक ल्याउने तयारी हुँदै गर्दा कोरोनाले सबै कार्यक्रम बिथोलिदियो।
अहिले सङ्क्रमणको दर क्रमशः घटिरहेको र खोप लगाउनेको सङ्ख्या बढिरहेकाले विभिन्न क्षेत्रका पर्यटन व्यवसायीले सहज वातावरण बनाउन सरकारसँग अनुरोध गरेका छन्।