सुदूर नेपाललाई विश्वसँग जोड्दै

साताको शेयर बजारः ३८ अर्बको कारोबार

२०७८ असोज २, ०६:४३ रासस

काठमाण्डौः धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो। नेप्से ओर्लने क्रम अगाडि बढ्दै जाँदा दुई हजार ८०० को विन्दुमा झरेको छ। झन्डै तीन हजार ३०० को विन्दुमा पुगेको नेप्से परिसूचक क्रमशः ओरालो लागेको हो। 

यस साता कारोबार भएका पाँच दिनमध्ये दुई दिन नेप्से परिसूचकमा सुधार भयो भने तीन दिन ओरालो लाग्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल २३१ कम्पनीको सात करोड चार लाख ४७ हजार ७१७ कित्ता शेयर ३८ अर्ब ३१ करोड ७८ लाख ८२ हजार ७१५ मूल्यमा खरिदबिक्री भए। 

बैंक तथा वित्तीय संस्थाको बढ्दो ब्याजदर तथा तरलताको अभावका कारण पनि बजारमा प्रभाव परेको छ । आइतबार साताकै सबैभन्दा धेरै कारोबार भएको थियो। तीन दिन नौ अर्बको कारोबार भए पनि दुई दिन पाँच अर्बमा सीमित भयो। 

साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भयो। त्यस दिन नेप्से ७१ दशमलव ४३ अङ्कले बढेर दुई हजार ९४७ दशमलव ४२ मा पुग्यो। 

ठूला कम्पनीको शेयर कारोबार मापक ‘सेन्सेटिभ इन्डेक्स’ १३ दशमलव  ०३ विन्दुले बढेर ५४८ दशमलव २९ मा पुग्यो। कूल २३१ कम्पनीको एक करोड ७१ लाख ३३३ कित्ता शेयर नौ अर्ब ४४ करोड ३५ हजार २४४ मूल्यमा खरिदबिक्री भए। कारोबार भएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोषको मात्रै ० दशमलव ०५ विन्दुले ओरालो लाग्यो भने १२ उपसमूहको शेयर उकालो लागेको थियो। 

त्यस दिन कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रही  ७३ करोड ७७ लाख आठ हजार ६८५ बराबरको खरिद बिक्री भयो। आइतबार विभिन्न नौ कम्पनीका शेयरमा सर्किट लाग्यो। 
साताको दोस्रो दिन नेप्सेमा झिनो अङ्कको वृद्धि भयो। त्यस दिन नेप्से परिसूचक ० दशमलव २७ विन्दुले उकालो लागेर दुई हजार ९४७ दशमलव ६९ मा पुग्यो। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने ‘सेन्सेटिभ इन्डेक्स’ ० दशमलव ५५ विन्दुले बढेर ५४८ दशमलव ८७ मा पुग्यो। कूल २२६ कम्पनीको एक करोड ५६ लाख ८१ हजार १८४ कित्ता शेयर नौ अर्ब २९ करोड पाँच लाख ५४ हजार १५५ मूल्यमा खरिद बिक्री भए। सोमबारको कारोबारपछि बजार पूँजीकरण  ४१ खर्ब २५ अर्ब ४६ करोड ८६ लाख ४० हजार बराबर पुग्यो। 

कारोबार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर उकालो लाग्दा छ उपसमूहको शेयर ओरालो लाग्यो। त्यस दिन पनि कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही  ६१ करोड ९३ लाख ५० हजार ७९३ बराबरको शेयर खरिद बिक्री भयो। त्यस दिन नेप्सेमा अजोड अजोड इन्सुरेन्स, मनकामना स्मार्ट लघुवित्त, सानिमा लाइफ इन्सुरेन्सको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो। 

साताको तेस्रो दिन नेप्सेमा दोहोरो अङ्कको गिरावट देखियो। नेप्से परिसूचक १८ दशमलव ५४ विन्दुले ओरालो लागेर दुई हजार ९२९ दशमलव २८ मा ओर्लियो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३ दशमलव २१ विन्दुले ओरालो लागेर ५४५ दशमलव ६६ मा पुग्यो। नेप्सेसँगै कारोबार रकमसमेत घट्न पुग्यो। कूल २२२ कम्पनीको एक करोड छ लाख ३९ हजार ८२६ कित्ता शेयर  पाँच अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ मूल्यमा खरिद बिक्री भए। मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण  ४० खर्ब ९९ अर्ब ५१ करोड ७२ लाख ४० हजारको हाराहारीमा रहेको थियो। 

त्यस दिन कारोबार भएका १३ वटै उपसमूहको शेयरसमेत ओरालो लाग्यो। कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही २७ करोड तीन लाख ७० हजार ५२४ बराबरको शेयर खरिद बिक्री भयो। साताको चौथो दिन बुधबार नेप्सेमा उच्च अङ्कको गिरावट देखियो। त्यस दिन नेप्से ४० दशमलव २६ अङ्कले घटेर दुई हजार ८८९ दशमलव ०३ मा ओर्लियो। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७ दशमलव १६ विन्दुले घटेर ५३८ दशमलव ५० मा सीमित भयो। नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत  पाँच अर्बमा सीमित भयो।  कूल २२२ कम्पनीको एक करोड पाँच लाख ५७ हजार ८६६ कित्ता शेयर पाँच अर्ब ३५ करोड ८० लाख ९७ हजार २५१ मूल्यमा खरिद बिक्री भए।

बुधबारको कारोबारपछि बजार पूँजीकरण ४० खर्ब ४३ अर्ब १८ करोड ९७ लाख ५० हजार बराबर रहन पुग्यो। कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लाग्न पुग्यो। शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्सेमा पहिरो लाग्यो तर कारोबार नौ अर्बमाथि रह्यो। त्यस दिन नेप्से परिसूचक ७६ दशमलव  ६५ विन्दुले ओरालो लागेर दुई हजार ८१२ दशमलव ३८ मा ओर्लियो। यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२ दशमलव ७३ अङ्कले घटेर ५२५ दशमलव ७८ मा सीमित भयो।

कूल २२९ कम्पनीको एक करोड ६४ लाख ६८ हजार ५०८ कित्ता सेयर नौ अर्ब तीन करोड ३९ लाख ६२३ मा कारोबार भयो। कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य ओरालो लागे।
 

कमेन्ट लोड गर्नुस