नेपाल अमेरिकासँग पराजित
काठमाडौँ: आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल अमेरिकासँग छ विकेटले पराजित भएको छ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा नेपालले जितका लागि दिएको १७५ रनको लक्ष्य अमेरिकाले २९ दशमलव तीन ओभरमा चार विकेट गुमाएर पूरा गर्यो। नेपाल अमेरिकासँग एकदिवसीयमा पहिलो पटक पराजित भएको हो। अमेरिकाको जितमा स्टेभेन टेलरले ९२ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ६३ बलमा १२ चौका र तीन छक्का प्रहार गरे। यस्तै मोनान्क पटेलले अविजित ३८ रन जोड्दा जस्करण मल्होत्राले अविजित ३६ रन बनाए। सुसान्त मोदानीले दुई रन जोडे।
नेपालका सन्दीप लामिछाने र करण केसीले २/२ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा सबै विकेट गुमाउँदै १७४ रनको योगफल बनाएको थियो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रनको अर्धशतकीय इनिङ्स खेले। उनले १०५ बलमा तीन चौका प्रहार गरे। ओपनर कुशल भुर्तेलले ३६ रन जोड्दा डेब्यु खेलाडी गुलशन झाले २८ रन बनाए। त्यस्तै करण केसीले १२, विनोद भण्डारीले १० तथा रोहित पौडेल र सोमपाल कामी २÷२ रनमा आउट भए।
ओपनर आसिफ शेख पनि तीन रनमा आउट भए। सन्दीप लामिछाने ११ रनमा आउट हुँदा सुशन भारीले अविजित दुई रन जोडे। अमेरिकाका कप्तान सौरभ नेत्राभाल्करले चार विकेट लिए भने केली फिलिपले तीन विकेट लिए। त्यस्तै करिमा गोर, एल्मोर हुचिन्सन, नास्टुश केनिजेगेले एक/एक विकेट लिए। यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपाल ओमानसँग पाँच विकेटले पराजित हुन पुगेको थियो। नेपालले अन्तिम खेल ओमानसँग आइतबार खेल्नेछ।