यसरी निराकरण गर्न सकिन्छ धनगढी डुबानको समस्या
धनगढी : असोज सुरु भए पनि धनगढीका विभिन्न टोल तथा बस्तीमा जमेको पानी अझै सुकेको छैन। हप्तौँ अगाडिको वर्षाले डुबानमा परेको धनगढीका कतिपय घरबाट अझै पानी नसुकेको हो। डुबानको समस्या बढ्दै गएपछि स्थानीयले दीर्घकालिन समाधान गर्नुपर्ने आवाज उठाउन थालेका हुन्।
डुबानको समस्या निराकरण गर्न २०२१ सालको नाप नक्साअनुसार काम गर्न माग हुन थालेको छ। ०२१ सालको नापीअनुसार धनगढीका खोलानाला, ताल, नहर र कुलोमा भएको अतिक्रमण खाली गरिए डुबानको समस्या निराकरण हुने दाबी गरिएको हो।
धनगढी बजार क्षेत्रका विभिन्न वडामा हुने डुबानको कारण खोलानाला, ताल, कुलो र नहर अतिक्रमण भएकोले २०२१ सालको नापीका आधारमा पानी बग्ने र जम्ने क्षेत्र खाली गर्नुपर्ने माग धनगढीको वडा नम्बर ३ मा गठन गरिएको डुबान नियन्त्रण संघर्ष समितिका अध्यक्ष जयबहादुर थापाको छ। ‘२०२१ सालको नापी हेर्दा धनगढीका कुनै कुलो मात्र बाँकी छन्, धनगढी डुबानको मुख्य कारण पुरानो कुलो र नहरमा गरिएको अतिक्रमण हो,’ उनले भने, ‘खोलानाला पनि साँघुरो बनाए अतिक्रमण गरेर। १० ठाउँमा नाला थियो भने अहिले दुई ठाउँमा मात्रै खोली दिए डुबान हुने थिएन।’
धनगढी डुबानको मुख्य दोषी नगर विकास रहेको र त्यसमा उपमहानगरपालिकाले साथ दिएको आरोप स्थानीयको छ। नगर विकास समितिले खोलानालाको सार्वजनिक जग्गा जथाभावी बिक्री गरेको छ भने सो जग्गामा भौतिक संरचना निर्माण गर्न उपमहानगरपालिकाले नक्सा पास गरेको कारण धनगढी डुबानमा पर्न थालेको धनगढीका स्थानीय रणबहादुर बलायरले बताए। ‘खोलानाला पर्ती जग्गा मास्दै गए, सार्वजनिक जग्गा मासेर अहिले नहर र खोला बाँकी छैनन्,’ उनले भने, ‘एउटा खोला बाँकी राखिएको छैन। नगर विकासको नाममा बेचेर भत्ता पचाइएको छ।’
धनगढीको अवस्था पछिल्ला दुई दशकदेखि निकै बदलिएको छ। खोलानालाको जग्गामा समेत संरचना निर्माण भएका कारण खोला खुम्चिदा डुबान पर्न थालेको गुनासो धनगढीमा ६ दशक अगाडिदेखि बसोबास गरिरहेका दीर्घराज जोशी गर्छन। खोलानाला, नहर र कुलो मात्र नभएर सार्वजनिक बाटोसमेत व्यक्तिको नाममा दर्ता गरिएको उनको भनाइ छ। ‘बाटो, कुलो र नाला मासिएपछि निकास रोकिएको छ,’ उनले भने, ‘त्यस्तोमा यदि कोही बसेको छ भने त्यो हटाउन कानुनी प्रावधान त छ। दर्ता गर्ने निकायलाई समेत समात्नुपर्छ।’ ०२१ सालको नापीअनुसार काम भए अतिक्रमित खोलानाला, ताल, नहर र कुलो आफैँ खाली हुने विश्वास उपमहानगरवासीको छ।