'डडेल्धुरामै प्रधानमन्त्री देउवाको बदनाम गरेर कमजोर पार्न खोजियो'
धनगढी: नेपाली कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशनमा जिल्ला सभापतिका उम्मेद्वार रहेका भीमबहादुर साउद समूहले प्रधानमन्त्री एवं केन्द्रीय सभापति शेरबहादुर देउवाको बदनाम गर्न खोजिएको आरोप लगाएको छ। मंगलबार बिहान होटेल राइनोमा पत्रकार सम्मलेन गर्दै सो समूहले हालका सभापति कर्णबहादुर मल्ल पक्षले देउवाको बदनाम गरी जिल्लामै कमजोर बनाउन खोजेको आरोप लगाएको हो।
उक्त समूहले वर्तमान नेतृत्वले अवैधानिक ढंगले केन्द्रीय कार्यसमितिको निर्णय विपरित शतप्रतिशत भन्दा बढी क्रियाशील सदस्यता वितरण गरेको, स्थानीय तहमा आधिकारीक उम्मेद्वार विरुद्ध विद्रोह गरेका सदस्यको सदस्यता नविकरण नगर्ने निर्णय विपरित नविकरण गरेको विषयमा नै विवाद भएको स्पष्ट पारेको छ।
यस्तै साउद समूहले आइतबार सभापति मल्ल समूहले पत्रकार सम्मेलनमार्फत केन्द्रीय सभापति देउवाको हस्तक्षेपमा एकलौटी रुपमा भएको वडा अधिवेशन स्वीकार नगर्ने बताएको कुरामा अपत्ति समेत जनाएको छ। सो समूहले विज्ञप्ति नै जारी गरी भनेको छ, ‘सदस्यता छानविन समितिले टुङ्ग्याएका क्रियाशील सदस्यलाई अवैधानिक भन्नु र केन्द्रीय सभापति आदरणीय शेरबहादुर देउवाको हस्तक्षेपमा अधिवेशन गरिएको भन्नु खेदजनक छ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘केन्द्रीय निर्णयको अवज्ञा गर्दै सतप्रतिशत भन्दा बढी भएका सदस्यता अवैधानिक वितरण गर्नु, स्थानीय तहमा विद्रोही उम्मेद्वार भएकोमा पार्टीले कारबाही गरेका सदस्यको नविकरण गरी केन्द्रलाई आफैं सिफारिस पठाउने र त्यसै विषयलाई आधार बनाई सदस्यता काटिएको भनि बखेडा झिकेर अधिवेशनमा भाग लिन्न भन्नु पछाडिको नियत केन्द्रीय सभापति शेरबहादुर देउवालाई बदनाम गराई उहाँलाई कमजोर बनाउन कसैले प्रयोग गरेको कुरा लुकाएर लुक्दैन।’
यस्तै सम्पन्न भएका वडा अधिवेशन पूर्ण वैधानिक भएको भन्दै आगामी असोज ९ गतेदेखि सुरु हुने अन्य तहका अधिवेशनमा सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य तथा क्षेत्रिय प्रतिनिधिलाई १५ जनाद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत आग्रह गरिएको छ।
सम्बन्धित समाचार:
‘वडामै पराजित हुने अवस्था देखेपछि डडेल्धुरामा २०-२५ जनाले नियोजित विवाद गरे’
सुरक्षा घेराभित्र गरिएको एकपक्षिय वडा अधिवेशन मान्दैनौंः कांग्रेस डडेल्धुरा
देउवालाई डडेल्धुरा कांग्रेस उपसभापतिको चेतावनीः ठुलो दुर्घटना हुनेछ, पश्चताप गर्नुपर्ला
कर्ण मल्ल भन्छन्, ‘डडेल्धुरामा ज्ञानेन्द्र शासन सुरु भयो’