सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘वडामै पराजित हुने अवस्था देखेपछि डडेल्धुरामा २०-२५ जनाले नियोजित विवाद गरे’

२०७८ भदौ २८, ०३:२० खबर संवाददाता

धनगढी : डडेल्धुराका ५२ वडामध्ये ५० वडामा नेपाली काँग्रेसको नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन समितिले निर्धारण गरेको मितिअनुसार भदौ २५ गते भएको वडा अधिवेशनमार्फत ५० वडामा नयाँ नेतृत्व चयन गरिएको हो।

अजयमेरु गाउँपालिका वडा नम्बर ३ र नवदुर्गा गाउँपालिका वडा नम्बर ५ मा भने अधिवेशन हुन सकेको छैन। जिल्ला सभापति कर्ण मल्लको समूहले भने क्रियाशिल सदस्यता विवादकै बीच गरिएको वडा अधिवशेन मान्य नहुने बताउँदै आएको छ।

मल्ल समूहले जिल्लाबाट सिफारिस भएका चार सय ६० जनाको नाम काटिएको र कुनै पनि तहबाट सिफारिस नभएका तीन सय १२ जनाको नाम थपिएको आरोप लगाउँदै आएको छ। डडेल्धुरा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला पनि हो। जिल्ला सभापति मल्लले भने केन्द्रीय सभापतिकै ठाडो आदेशमा एकलौटी रुपमा वडा अधिवेशन भएको आरोप लगाउँदै आएका छन्। 

यता अर्को पक्षले भने क्रियाशील सदस्यता विवाद नियोजित रुपमा ल्याइएको बताएका छन्। देउवाले जिल्ला सभापतिका लागि अगाडि सारेका काँग्रेस नेता तथा पर्शुराम नगरपालिकाका मेयर भीमबहादुर साउँदले केन्द्रीय सभापति देउवालाई विवादमा ल्याउन अनावश्यक विषयलाई चर्चामा ल्याइएको आरोप लगाए।

’४१ वटा वडामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ,’ उनले भने, ‘९ वडामा भव्यताका साथ चुनाव भएको छ। जिल्लामा उपस्थित लगभग सबै क्रियाशिल सदस्यको सहभागिता भएको छ। तर केन्द्रीय सभापतिको जिल्लामा नियोजित रुपमा विवाद बढाउन खोजिएको छ।’

साउँदका अनुसार अधिवेशन अगाडि मल्ल समूह पनि जिल्ला दौडाहमा थियो। ‘सुरुमा क्रियाशिल सदस्यताको विषयमा विवाद नै थिएन, अधिवेशन नजिकीएपछि हामी र उहाँहरु (मल्ल समूह) जिल्लाका सबै स्थानीय तहमा पुग्यौँ,’ साउँदले दिनेशखबरलाई भने, ‘उहाँहरुले अवस्था राम्रो देख्नु भएन। वडामै पराजित हुने अवस्था देखेपछि डडेल्धुरामा २०/२५ जनाले नियोजित विवाद गरेका हुन्।’

साउँदले २०/२५ जना जिल्ला तहका नेताबाहेक सबै क्रियाशिल सदस्यले अधिवेशनमा सहभागिता जनाएको दाबी गरे। अनावश्यक रुपमा सभापति देउवालाई विवादमा पार्ने नियोजित प्रयास भइरहेको बताउँदै साउँदले छानविन समितिले टुंग्याएको विषयमा सभापतिलाई जोड्नु गलत भएको बताए। 

‘जिल्लाबाट सिफारिस भएका सदस्यको नाम काटिएको भन्दै प्रचार गरिए पनि त्यसमा सत्यता छैन,’ उनले भने, ‘वडाको सहमतिबीना, जिल्ला कार्यसििमतको सहमतिबीना एक पक्षीय रुपमा नाम सिफारिस गरिएपछि छानबिन समितिले टुंग्याएको हो। त्यसमा संग्लन हुँदै नहुनुभएका केन्द्रीय सभापतिको दोष छ भन्नु तर्कसंगत हुदैन्।’

कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको सात सदस्यीय समितिले क्रियाशील सदस्यतामाथि परेका उजुरीको छानबिन गरेको थियो। छानबिन समितिका अनुसार डडेल्धुरामा २ हजार ८६८ को पुरानो क्रियाशील सदस्यमध्ये प्रक्रिया अनुसार २ हजार पाँच सय जति मात्रै वितरण गरेको पाइएको जनाएको छ। जिल्ला सभापतिले बाँकी ३०८ क्रियाशील सदस्यता आफ्नो इच्छाअनुसार वितरण गरेको भनेर उजुरी परेपछि उनीहरुको नाम हटाइएको समितिले जनाएको छ।

कमेन्ट लोड गर्नुस