सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरले फोहोर उठाउँदैन, मुख्य चोकमै दुर्गन्ध

२०७८ भदौ २५, ०७:०० नारायण अवस्थी

धनगढी : सुदूरपश्चिमको राजधानी धनगढीको मुख्य सडकमै फोहर थुप्रिन थालेको छ। नगर क्षेत्रको फोहर व्यवस्थापन गर्न कानुन नै बनाएको उपमहानगरले त्यो कानुन अनुरुप दायित्व बहन गर्न नसक्दा धनगढीका मुख्य सडकसहित नगरका विभिन्न चोक तथा क्षेत्रमा फोहर थुप्रिन थालेको हो। 

उपमहानगरपालिकाले फोहरमैला व्यवस्थापन गर्न नसक्दा मोहनापुल–अत्तरिया ६ लेन सडकमा समेत फोहर थुपार्न थालिएपछि दुर्गन्ध बढ्न थालेको छ। सडकको मिलन चोकदेखि ट्राफिक चौराहासम्म ठाउँठाउँमा फोहर फालिएको छ। अन्तर्राष्ट्रिय नाकासँग जोडिएको तथा भर्खरै निर्माणको कामसमेत सम्पन्न नभएको ६ लेन सडकको मेडियनमा समेत फोहर फाल्ने गरिएको छ। 

यसैगरी धनगढीको मुख्य सडक तथा शाखा सडकहरुका चोकहरुमा पनि फोहर थुप्रिएको लामो समयसम्म उपमहानगरपालिकाले व्यवस्थापन नगरेको गुनासो बढेको छ। वडा नम्बर ४ मा रहेको प्रदेश प्रमुखको कार्यालय तथा घरेलु तथा साना उद्योग कार्यालयको प्रवेशद्वारमै फोहर थुप्रिन लाग्दा निकै समस्या भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नवराज भट्टले गुनासो गरे। ‘हामीले पटकपटक उहाँहरुलाई अनुरोध गरेका थियौँ, तर यो हप्ता फोहर किन उठ्न सकेन थाहा भएन,’ उनले भने, ‘बाहिर फोहरमैला जम्मा भएको छ, गर्मी पनि छ। झाडापखालाको मौसम छ। सार्वजनिकस्थलको सरसफाइमा ध्यान दिनु पर्ने थियो।।’

वडा कार्यालयहरुले फोहरमैला व्यवस्थापनमा सहकार्य गर्न नसकेको कारण फोहरमैला व्यवस्थापन गर्नु चुनौति भएको उपमहानगरको सामुदायिक विकास तथा सरसफाई शाखा प्रमुख टंकबहादुर विष्टले बताए। ‘आफ्नो वडाको कोर एरिया छुट्याएर फोहर व्यवस्थापन गर्न उचित कदम चाले चाप घट्ने थियो। सबै वडाले विसर्जन गर्ने ठाउँ छुट्याएर राखे नगरमा भार कम पथ्र्यो,’ उनले भने, ‘अहिले त्यो खालको व्यवस्थापन हामी कहाँ नभएकोले समस्या भएको हो।’

उपमहानगरपालिकाले निर्माण गरेको फोहरमैला व्यवस्थापन ऐन २०७४ को दफा २४ को खण्ड ‘क’ मा उपमहानगरपालिकाले तोकि दिएको समय र स्थानमा बाहेक अन्यत्र फोहरमैला निष्कासन गर्नेलाई सजाय हुने व्यवस्था गरिएको छ। तर उपमहानगरले फोहर विसर्जन केन्द्र भनेर नतोकेको ठाउँमा समेत फोहरमैलाको थुप्रो लाग्ने गरेको गुनासो गरिएको छ। उपमहानगरले तोकेको ठाउँमा फोहोर थुपार्दासमेत व्यवस्थापनमा ढिलाई भएको उपमहानगरवासीको गुनासो छ।

कानुन बनाएर फोहरमैला व्यवसथापन गर्ने जिम्मेवारी पाए पनि फोहरमैला व्यवस्थापन केन्द्रको स्थापना नहुँदासम्म समस्या यथावत रहने सरसफाई शाखा प्रमुख विष्टले बताए। ‘फोहर उठाइसकेपछि फोहर नफाले समस्या आउदैन थियो, तर विहान फोहर उठाएपछि फोहर फाल्दा समस्या भएको हो,’ उनले भने, ‘समग्रमा फोहर व्यवस्थापन केन्द्र स्थापना नहुँदासम्म र आफूले उत्पादन गरेको फोहर स्वयं आफैले व्यवस्थापन नगर्दासम्म समस्या यथावत रहने देखिन्छ।’ उपमहानगरपालिकाले फोहोर आफै उठाउँदै आएको बताएको छ भने विभिन्न निजी संस्थाले पनि फोहोर उठाएर नगरवासीबाट मनपरी शुल्क असुल्दै आएका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस