कर्ण मल्ल भन्छन्, ‘डडेल्धुरामा ज्ञानेन्द्र शासन सुरु भयो’
धनगढी : विवादकै बीच डडेल्धुरामा नेपाली काँग्रेसको वडा अधिवेशन सुरु भएपछि जिल्ला सभापति कर्ण मल्लले ‘ज्ञानेन्द्र शासन’ लगाइएको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लामा ‘ज्ञानेन्द्र शासन’ सुरु भएको आरोप लगाएका हुन्।
‘डडेल्धुरामा ज्ञानेन्द्र शासन सुरु भएको छ, प्रहरी लगाएर पार्टीको अधिवेशन गर्न थालिएको छ, हामीले बहिस्कार गरेका छौँ,’ मल्लले दिनेशखबरलाई भने। प्रहरी लगाएर पार्टीको अधिवेशन गराउने गलत प्रयत्न भइरहेको उनको आरोप थियो। ‘सदूरपश्चिमका ९ जिल्लाबाट सुरक्षाकर्मी ल्याएर एक पक्षीय रुपमा अधिवेशन भइरहेको सुनेका छौँ,’ मल्लले दिनेशखबरलाई भने, ‘केन्द्रबाटै वडा सभापतिका उम्मेदवार तय भएका छन्। त्यस्तो अधिवेशनमा हामी सहभागी हुँदैनौँ।’
यता डडेल्धुराका निर्वाचन अधिकृत लोकेन्द्र बमका अनुसार ५२ वटै वडामा अधिवेशनको प्रक्रिया अगाडि बढेको छ। ‘सबै वडामा अधिवेशन अगाडि बढेको छ, ५२ मध्ये आधा वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको जानकारी आएको छ,’ बमले दिनेशखबरलाई भने। यता देउवा पक्षका नेता भीमबहादुर साउँदले सर्वसम्मत नेतृत्व चयन गर्न खोज्दा जिल्ला सभापतिले विरोध गरेको आरोप लगाए। उनले सबै वडामा शान्त वातावरणमा अधिवेशन भइरहेको दाबी गरे।