सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लच्किएका बिजुली तारको त्रास, निवेदन दिँदा पनि प्राधिकरणले नसुनेको गुनासो

२०७८ भदौ २४, ०६:४२ नारायण अवस्थी

धनगढी: धनगढीमा अव्यवस्थित विद्युतीकरणका कारण दुर्घटनाको जोखिम बढेको गुनासो बढ्न थालेको छ। नेपाल विद्युत प्राधिकरणले बर्सातका कारण लच्किएका तथा पुराना विजुलीका पोलहरु मर्मत नगर्दा धनगढीको मुख्य सडक तथा भित्री टोलहरुमा बिजुलीको तारले भुइँ छुन लागेको छ। 

जसका कारण करेन्ट लाग्ने जोखिम बढेको धनगढी ८ का स्थानीय नेपालु चौधरीले बताए। ‘बिजुलीको तारले बिहान मोर्निङ वाकमा निक्लिन पनि डर लाग्न थालेको छ। अस्ति पोलमा आगो लागेको थियो’ उनले भने, ‘मर्मत गर्न जति पटक भनेपनि कोही पनि आउँदैनन्।’

धनगढीको चटकपुरमा रहेको फारवेस्ट टेक्निकल कलेज जाने सडक भएर तानिएको विद्युत लाइनको तार लच्किएर जमीनबाट थोरै माथि छ। त्यो लाइनको चारवटै तारमा बालबालिकाको समेत हात पुग्ने देखिन्छ। विगत २ महिनादेखि बिजुलीको तार भुइँबाट थोरै माथि पुगेको अवस्थमा निवेदन दिएर पनि प्राधिकरणले मर्मत नगरेको गुनासो स्थानीय लक्ष्मी जोशीको छ। ‘बिजुलीको तार लच्किएर भुइँ छुने भएको छ। निवेदन दिएको पनि २ महिना भयो होला’ उनले भने, ‘तारको कारणले कतिखेर बालबालिकालाई करेन्ट लाग्छ थाहा छैन।’

नगरवासीले निवेदन दिएर पनि विद्युत मर्मत गर्न अधिकारीहरु नआएको गुनासो गरिए पनि नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले भने लाइन मर्मत सम्बन्धी गुनासोको सुनुवाइ हप्ता या १० दिनभित्रै गरिने दाबी गरेको छ। 
विद्युत प्राधिकरणका धनगढी वितरण केन्द्रको मर्मत शाखाका सुपरभाइजर सुरज स्वाँर भन्छन्, ‘बिजुलीका पोल लच्किएर तार तल आएका हुन सक्छन्। त्यस्तो अवस्थामा हामीलाई खबर गर्यो भने हप्ता १० दिनमा मर्मत गर्छौँ। तारले समस्या गरेको ठाउँबाट गुनासो आएपछि मर्मतको योजना बनाएर ठेक्का दिने गरेका उनले बताए। 

धनगढीमा पुरानो तथा होचो पोलका कारण पनि बिजुलीको तार लच्किएको अनुमान गरिएको छ। धनगढीमा बिजुलीका पोल तथा ट्रान्सफार्मरसमेत असुरक्षित रहेको गुनासो गरिँदै आएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस