कैलाली, डडेल्धुरा र बाजुरामा एकअर्कालाई वडामै हराउने खेल, अधिवेशन अनिश्चित
धनगढी : मंसिरमा १४औँ महाधिवेशनको मिति तोकेको नेपाली काँगे्रसको वडा अधिवेशन भने १८ गतेदेखि सुरु भएको छ। तर सुदूरपश्चिमका तीन जिल्ला कैलाली, डडेल्धुरा र बाजुरामा भने क्रियाशील सदस्यता विवादका कारण अधिवेशन अनिश्चित बनेको छ।
कैलाली र बाजुरामा नामावली नै प्रकाशन गरिएको छैन भने डडेल्धुरामा नामावली प्रकाशित भएपछि सोही नामावलीमै विवाद भएको छ। क्रियाशील सदस्यता वितरण गर्दा पार्टीमा रहेका गुटले एकअर्कालाई वडादेखि नै हराउने गरी क्रियाशील सदस्यता वितरण गरेकोले काँगे्रसमा कचिलो बढेको बताइएको छ।
काँग्रेसले भदौ २७ गते गाउँ–नगर अधिवेशनको सम्पन्न गर्ने तथा असोज १० र ११ गते जिल्ला अधिवेशन गर्ने तालिका सार्वजनिक गरेको भएपनि कैलाली जिल्लाको निर्वाचन क्षेत्र नम्बर १, २ र ४ मा देखिएको क्रियाशील सदस्यता विवादले वडा अधिवेशन पनि सुरु नभएको नेपाली काँग्रेस कैलालीका उप–सभापति प्रकाश बमले बताए। ‘कैलालीको निर्वाचन क्षेत्र नम्बर १, २ र ४ मा मात्रै क्रियाशील सदस्यता वितरणमा विवाद देखिएको छ। विवाद समाधान गर्न छानबिनसमेत भइरहेको छ,’ उनले भने, ‘विधिवत रुपमा वडा, गाउँ तथा नगर हुँदै क्षेत्रीय समिति र जिल्ला कार्यसमितिले सिफारिस गरेका नामावलीमा पनि विवाद गरिएको छ। जसले गर्दा वडा अधिवेशन हुन सकेको छैन्।।’
कैलालीमा क्रियाशील सदस्यको नामावली नै सार्वजनिक भएको छैन। कैलालीको निर्वाचन क्षेत्र नम्बर १ मा ५ सय ८१ सदस्यतामाथि विवाद छ। यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा ३ सय ७० र निर्वाचन क्षेत्र नम्बर ४ मा भने काँग्रेसकै एक समूहले राप्रपाबाट आएका भनेर क्रियाशील सदस्यता वितरण गरेको हुँदा छानबिन समितिमा उजुरी परेको छ।
तर पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा भने जिल्लाबाट पठाइएका चार सय बढी क्रियाशील सदस्यको नाम हटाएर केन्द्रबाट तीन सय हाराहारीमा अन्यको नाम समावेश गरिँदा विवाद भएको जनाइएको छ। निर्वाचन समितिले वडा अधिवेशन २५ गते तोकेको छ भने जिल्ला सभापतिले विज्ञप्ती जारी गर्दै स्थगित गरेको जानकारी दिएका छन्।
क्रियाशील सदस्यतामा गरिएको हेराफेरीले गर्दा वडा अधिवेशनसमेत नगरेर गलत कार्यको प्रतिकार गरिने डडेल्धुरा काँग्रेसका सभापति कर्ण मल्लले बताए।। ‘डडेल्धुरामा ५ सय हाराहारीमा पुराना क्रियाशील सदस्य हटाएर नामावली प्रकाशित गरिएको छ। ३ सय हाराहारीमा नयाँ क्रियाशील थप्ने काम गरिएको छ,’ उनले भने, ‘जिल्ला कार्यसमितिले अधिवेशन रोक्ने निर्णय गरेको छ। तर निर्वाचन समितिले प्रहरीको घेरामा २५ गते वडा अधिवेशन तोकेको छ।’
बाजुरा जिल्लामा पनि वडा अधिवेशन सुरु भएको छैन। बाजुरा जिल्लामा ४ सय ५१ जना नयाँ क्रियाशील सदस्यको नामावली दुधकोशी गाउँपालिकाको लेटरप्याडमा लेखेर संस्थापन पक्षले बदमासी गरेको आरोप लागेको छ।
क्रियाशील सदस्यता छानबिन समितिले समेत अबैध तरिकाले गएको नामावलीलाई आधिकारीकता प्रदान दिने हिसावले चलखेल गर्न खोजेको आरोप काँग्रेस बाजुराका नेता एवं त्रिवेणी नगरपालिकाका नगरप्रमुख रामसिंह रावलको छ। ‘बाजुरामा जिल्ला सभापतिको मिलेमतोमा नै फोरम लगायत अन्य पार्टीबाट आएका भनेर चार सय ५१ जनाको फर्जी नामावली तयार गरिएको छ,’ उनले भने, ‘सोलुखुम्बुको दुधकोशी गाउँपालिकाको लेटरप्याडमा विभिन्न व्यक्तिका नाम लेखेर दिइयो र विवाद झिक्ने काम भएको छ।’
१४औँ महाधिवेशनका लागि तोकिएको समयमै कैलाली, बाजुरा तथा डडेल्धुरामा वडा अधिवेशन सम्पन्न नहुँदा गाउँ–नगर अधिवेशन तथा जिल्ला अधिवेशनसमेत प्रभावित हुने देखिएको छ।