देउवाको गृह जिल्लामा कांग्रेस पार्टी कार्यालयद्वारा अधिवेशन स्थगित, तर निर्वाचन अधिकृतले तोके मिति
धनगढी: नेपाली कांग्रेसका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको सातौं जिल्ला अधिवेशन स्थगित भएको छ। कांग्रेसको १४औं महाधिवेशन प्रायोजनका लागि केन्द्रीय निर्वाचन समितिले पठाएको क्रियाशिल सदस्यहरुको नामावलीमा व्यापक हेरफेर तथा थपघट गरिएको भन्दै कार्यसमिति बैठकले अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।
मंगलबार पार्टी कार्यालयमा बसेको बैठकले केन्द्रीय निर्वाचन समितिले खटाएका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले निर्वाचन सामग्री नबुझाएको र उनी लगायत एक पक्षीय कार्यकर्ताहरुले बैठक पुस्तिकामा दस्तखत गर्न नमानेका कारण अधिवेशन स्थगित गर्ने निर्णय भएको जिल्ला सभापति कर्णबहादुर मल्लले जानकारी दिए।
यता निर्वाचन अधिकृत तोकिएका लोकेन्द्रबहादुर बमले भने केन्द्रीय निर्वाचन समितिको निर्णय अनुसार यहि भदौ २५ गते वडा अधिवेशन हुने भन्दै विज्ञप्ति जारी गरेका छन्। उनले जारी गरेको विज्ञप्तिमा बाँकी पालिका, प्रदेश सभा क्षेत्र र जिल्ला अधिवेशनको मिति आगामी सूचनामार्फत जानकारी गराइने उल्लेख छ।
आइतबार मात्रै सार्वजनिक भएको नेपाली कांग्रेसको क्रियाशील सदस्यता सूचिबारे जिल्लामा हंगामा मच्चिएको छ। आफूहरुले ४ तहबाट प्रमाणित गरेर सिफारिस गरेको नाममा व्यापक हेरफेर भएको भन्दै जिल्ला कार्य समितिले आपत्ति जनाएको हो।
नेपाली कांग्रेसका कार्यालय सचिव राम विष्टका अनुसार कार्यसमितिले २ हजार ५ सय ६ नयाँ सदस्य तथा नविकरणका लागि पुराना सदस्यको नाम गरेर ५ हजार ८ सय ४ जनाको नामावली सिफारिस गरेको थियो। जसमध्ये ४६० जनाको नाम छानविन समितिले हटाएर पठाएको छ।
हटाइका सदस्यहरुमा जिल्ला सभापति तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लकी आमा पार्वतीदेवी मल्ल, पूर्व जिल्ला सभापति तथा पूर्व परशुराम नगर सभापति तारी सिंह बोहरा, त्रिभुवन विश्व विद्यालयका पूर्व स्ववियू सभापति लोकराज भट्ट, जिल्ला कार्यसमिति सदस्य कमला विष्ट, अमरगढी नगरपालिका–९ का सभापति नरबहादुर पाल र कार्यालय सचिव राम विष्ट लगायतका छन्।
पार्टीका उपसभापति करुणाकर भट्टका अनुसार आफूहरुले नामै सिफारिस नगरेका ३१२ नयाँ सदस्यहरुको नाम माथिबाटै राखिएको छ। त्यस्तै ३ हजार १ सय ४४ नयाँ र २ हजार ५ सय ९८ पुराना गरेर गरेर केन्द्रबाट ५ हजार ७ सय ४२ जनाको नाम नामावलीमा सार्वजनिक भएको उनले बताए।
पार्टीका कार्यसमिति सदस्यहरुले केन्द्रीय सभापति शेरबहादुर देउवाले आफू निकटका उम्मेद्वार भीमबहादुर साउदलाई पार्टी सभापति बनाउन त्यस्तो गरेको आरोप लगाइरहेका छन्।
सम्बन्धित समाचार
डडेल्धुरामा क्रियाशील सदस्यबाट नाम हटाइएको भन्दै वडा सभापतिले गरे कांग्रेसको क्रिया
देउवाको गृह जिल्लामा क्रियाशील सदस्यताबारे लफडा, सभापतिकी आमादेखि कार्यसमिति सदस्यको नाम ‘कट