निर्मलालाई न्याय माग्दै सांसदले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाए
बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका लागि न्याय माग्दै नेपाली काँग्रेसका महिला सांसदहरुले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। प्रतिनिधिसभा सदस्य डाक्टर डिला संग्रौला, प्रदेशसभा सदस्य दिव्यश्वरी शाह र नन्दा बमले शनिबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई निर्मलाका हत्यारा पत्ता लगाई तुरुन्त कारवाहीको दायरामा ल्याउन माग गर्दै ज्ञापन पत्र बुझाएका हुन्।
मुख्यमन्त्रीलाई बुझाइएको १० बुँदे ज्ञापनपत्रमा निर्मलालाई न्याय दिदै छाउपडी तथा बोक्सी प्रथा लगायतका कुरिती अन्त्य गर्नुपर्ने माग पनि गरिएको छ। हरेक बालबालिकालाई हिड्दा डुल्दा असुरक्षा महसुस गर्न नपर्ने,महिला हिंसा सामाजिक कुरिती अन्त्य गर्दै प्रदेशको विकास निर्माणका कामलाई तिव्रता दिन समेत माग गरिएको छ।
प्रतिनिधि सभा सदस्य संग्रौला, प्रदेशसभा सदस्यद्धय शाह र बमले मुख्यमन्त्रीको निवासमै पुगेर संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन्। ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार पनि निर्मलाका हत्यारा सार्वजनीक हुनुपर्ने पक्षमा रहेको बताउदै त्यसका लागि संघिय सरकारसँग समन्वयमै रहेको जनाए भने प्रदेशको विकास निर्माणका काममा पनि सरकार गम्भीर रहेको बताए।