धनगढीमा युवक हत्या प्रकरण : हत्यारा सार्वजनिक नगरेपछि फेरी आन्दोलन
गत कार्तिक ३० गते राती हत्या गरिएका धनगढीका विजय थापा संघर्ष समितिले फेरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। थापाको हत्यामा संलग्नलाई बचाउने षड्यन्त्र भइरहेको भन्दै आन्दोलन थालेको समितिले फेरी आन्दोलनलाई निरन्तरता दिने जनाएको छ। हत्यारालाई छिट्टै सार्वजनिक गर्ने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको आश्वासनपछि आन्दोलनका कार्यक्रम फिर्ता गरेको संघर्ष समितिले शनिबार जिल्ला प्रशासन कार्यालयको गेट अगाडी शान्तिपूर्ण धर्ना दिने निर्णय गरेको छ।
विजय थापा न्यायिक संघर्ष समितिका संयोजक जनकराज अवस्थीले शनिबार समितिलाई पूर्णता दिदै आईतबार बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय अगाडी धर्नामा बस्ने निर्णय भएको जानकारी दिए। थापाको हत्या भएको १६ दिन सम्म पनि प्रहरीले हत्यारालाई सार्वजनीक गर्न आनाकानी गरेकाले आन्दोलन गर्नुपरेको उनले बताए। प्रहरीले थापाको हत्यामा संलग्न भएको आशंकामा उनकै साथी आशिष सेठीलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक हरी बहादुर ओलीले हत्या आशंकामा नियन्त्रणमा लिइएका सेठीलाई अदालत बुझाउने तयारी भइरहेको बताए। उनले थापाको हत्यामा सेठीकै संलग्नता रहेको देखिएको तर केही प्रमाण जुटाउन बाँकी रहेकाले छिट्टै अदालत पेश गरिने दावी गरे। कार्तिक ३० गते राति ९ बजे धनगढी उपमहानगरपालिका–४ प्रदेश प्रमुखको कार्यालय नजिकै स्थानीय विजय थापाको हत्या भएको थियो ।