डोटीमा बन्द कालिज फर्मभित्र चितुवा पसेपछि...
धनगढीः डोटीको केआईसिंह गाउँपालिका-६ भूमिराजमाण्डौैं फलेडीमा रहेको कालिज बहुउद्देश्यीय फर्म भित्र चितुवा पसेको छ। तार र जालीले बन्द गरेको फर्मभित्र आइतबार राति चितुवा पसेको सञ्चालक कर्ण बोहराले जानकारी दिए।
जङ्गलबाट राति फर्ममा पसेको उक्त चितुवाले कालिज मार्न थालेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। फर्मभित्र पसेको चितुवालाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा बिहान धपाइएको थियो। बिक्रीका लागि तयारी अवस्थामा रहेका कालिज चितुवाले मारेपछि करिव पाँच लाख २५ हजार नोक्सानी भएको सञ्चालक कर्ण बोहराले बताए। प्रतिकालिजको मूल्य तीन हजार ५०० देखि पाँच हजारसम्म रहेको जनाइएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले पनि आर्थिक सहयोग गर्न थालेपछि यहाँका युवा कालिजपालनमा आकर्षित भएका हुँदै गएका छन्। बोगटान फुड्सिलका देवबहादुर बोहराले पहिलो पटक कालिजपालन सुरुआत गरेका थिए।